arrow

अण्डाको मूल्य बढ्यो

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
egg.jpg

काठमाडौं । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक संघको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।

संघका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “उत्पादन लागत नोक्सानीमा थियो”, उनले भने, “लागत मूल्यअनुसार अझै कम मूल्य हो”, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि संघले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । “अण्डाको मूल्य घट्ने-बढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २५० देखि ३०० औशतमा मूल्य निर्धारण हुने गरेको छ ।” कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

एकसाताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् ।

 सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन् । पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ