arrow

१३ औं सागको यस्तो लाग्यो मस्कटको अर्थ 

लोगो र मस्कट सार्वजनिक, साग मंसिरमा हुने पक्का, विभिन्न उपसिमितिहरु गठन

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार

काठमाडौं । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद सागको लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सिंहदरबारस्थित खेलकुद मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । 

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतको उपस्थितिमा लोगो र मस्कट सार्वजनिक गरिएको हो । १३ औं साग २०१९ को डिसेम्बर १ देखि १० तारिख (मंसिर १५ देखि २४ गतेसम्म) लाई तय भएको छ ।

एननओसी अध्यक्ष श्रेष्ठ संयोजक रहेको लोगो छनोट समितिले प्राप्त ६ लोगो मध्ये हाल मैतीदेवी बस्ने विराटनगर निवासी भोलानाथ पौड्यालले तयार गरेको लोगोलाई छनोट गरेको हो । लोगोको पुरस्कार १ लाख रुपैयाँ रहेको छ । कृष्णसारलाई मस्कटका रुपमा प्रयोग गरिने भएको छ ।

सार्क राष्ट्रका खेलाडी मार्फत राष्ट्र तथा जनस्तरमा आपसी मित्रता र भाइचारा अभिबृद्धि गर्ने उत्सवका रुपमा लिइने मर्मलाई ध्यानमा राखि तयार गरिएको १३ औं सागको लोगोमा रहेको परेवाको आकृति एवं त्यसका प्रयुक्त रंगले शान्ति दर्शाउँछ । 

पृष्ठभूमिमा रहेको सोही रंगले स्वच्छन्त रुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र राष्ट्रलाई प्रतिनिधित्व गराउने निश्चल हिमालका रुपमा अथ्र्याउँछ । देब्रेतर्फ राखिएको प्वाँखकृतिले परेवारुपी आकृतिलाई मास्तिर उड्न गति प्रदान गरेको भने प्वाँखरुपी सात आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गरेको छ । 

सात प्वाँखले रंगशालाको ट्रयाकलाई समेत दर्शाउछ भने त्यसमा प्रयुक्त रंगले सम्बन्धित राष्ट्रको झण्डालाई प्रतिनिधित्व गरेको छ । लोगोमा राखिएको अक्षर र अंकले सागको १३ औं संस्करण, सागको पूर्ण नाम, वर्ष, मिति र स्थानलाई जनाएको छ ।

पत्रकार सम्मेलनमा १३ औं सागका लागि प्राविधिक उपसमिति र बजेट निर्माण कार्यदल गठन गरिएको सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए ।

राखेपका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, तालिम तथा प्रशिक्षण विभागकै पूर्व निर्देशक पार्थ सारथी सेन गुप्त र एनओसीका सुजनलाल श्रेष्ठ सदस्य रहने गरी ४ सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ ।

त्यस्तै राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा ५ सदस्यीय बजेट निर्माण कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सदस्य–सचिव विष्ट, खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखाका सह–सचिव अणप्रसाद न्यौपाने, महालेखा नियन्त्रक कार्यालयका उपसचिव, खेलकुद मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव नवराज घिमिरे रहेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले सागको लोगो र मस्कट सार्वजनिकले साग आयोजनाका विषयमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त गरे । सदस्य–सचिव विष्टले पूर्वाधारका कारण १३ औं साग नरोकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ