arrow

दार्चुलाको खलंगा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

logo
रमेश लम्साल,
प्रकाशित २०७६ जेठ १ बुधबार
Nepal-Electricity-Authority.jpeg

दार्चुला । गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलंगामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ । जसका कारण गुणस्तरीय विद्युत् प्रयोग गर्ने दार्चुलावासीको चाहनासमेत पूरा हुने भएको हो । भारतबाट आयात गरिएको विद्युत्मा पटक पटक भोल्टेजको समस्या भोगेका दार्चुलावासीलाई प्राधिकरणले निर्माण गरेको बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय प्रसारण प्रणाली नपुगको जिल्ला तथा क्षेत्रमा प्रसारण प्रणाली पुर्‍याउने कामलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन्। सो प्रसारण लाइनको बुधबार चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ । आजदेखि दार्चुलाको खलंगा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पुर्‍याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नु ठूलो उपलब्धि भएको बताए ।  “अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौँ”, अब हाम्रै राष्ट्रिय प्रसारण प्रणाली पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन कार्यकारी निर्देशक घिसिङले भने, “त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन् ।”

सो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ । प्राधिकरणले खलंगामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी बिन्दुबाट ११ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिकरुपमा करीब रु २५ लाख भुक्तानी गर्दै आएको थियो । प्राधिकरणका अनुसार खलंगा र आसपासका क्षेत्रमा आठ हजार ग्राहक छन् ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३-११ केभी सबस्टेसनको काम आगामी असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिए । “हाल बलाँच–खलंगा लाइन ३३ केभीकै बनेता पनि सवस्टेशनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्ज गरिएको छ”, उनले भने, “आगामी असारभित्रमा सवस्टेशनको निर्माण सकिन्छ, त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।”

नेपाल सरकार र प्राधिकरणको लगानीमा उक्त प्रसारण लाइन निर्माण भएको हो । बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न रु ८७ लाख ५० हजार मा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूवनोट, विकट क्षेत्रलगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सवस्टेशन निर्माणका लागि रु छ करोड ८९ लाखमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सवस्टेशनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् खलंगातर्फ पठाउने छ । चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सवस्टेशनमा मेगावाटको अपी पावरले निर्माण गरेको आठ मेगावाट क्षमताको नौगडगाड र आठ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो  नौगडगाड, माथिल्लो चमेलिया ४० मेगावाट, मध्य चमेलिया १६ मेगावाट, छ दशमलव पाँच मेगावाटको खलंगा गाडलगायतका  आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत् चमेलियाले नै बनाएको १३१ किलोमिटर लामो बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ