arrow

सात सय हेक्टरमा डढेलो

logo
रीता लामा,
प्रकाशित २०७६ जेठ १ बुधबार
BS-fire-ecology.jpeg

 घोराही । यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । पचास हेक्टर बढी जङ्गलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूहअन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता रोवरबहादुर केसीले बताए ।

उनका अनुसार उक्त वनमा वर्षेनी आगलागी हुने गरेको छ । छ सय ३५ हेक्टर क्षेत्रफल रहेको उक्त वनमा गत वर्ष आधा बढी वनमा डढेलो लागेको थियो । “उपभोक्ता सचेत नहुँदा वर्षेनी जङ्गलमा आगो लाग्ने गरेको छ”, उनले भने, “टाढाको वन रहेकाले उपभोक्तालाई बताउन समस्या हुने गरेको छ ।” वर्षेनी जङ्गलमा आगो लाग्ने गरेका कारण बिरुवादेखि चरा, वन्यजन्तुलाई समेत समस्यामा पर्ने गरेको उनले बताए । अग्निनियन्त्रणका लागि तालीम लिएर समिति बने पनि नियन्त्रण गर्न नसकेको केसीले बताए ।

त्यस्तै वैशाख १ गते घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको पाण्डवेश्वरी सामुदायिक वनमा आगलागी भएको थियो । आगलागीका कारण करीब २५ हेक्टर जङ्गलमा रहेका स–साना बिरुवा नोक्सान हुनुका साथै जङ्गली जन्तुलाई समेत समस्या भएको वन डिभिजन कार्यालयले जनाएको छ । उक्त वनमा लागेको आगो वन समूहका मानिस र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको थियो ।

यी दुई उदाहरण भए पनि पछिल्लो समय जिल्लाका अधिकांश वनमा आगलागीका घटना बढ्दै गएका छन् । गर्मी मौसम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिरहेको छ । विशेष गरेर चुरे क्षेत्रका अधिकांश वनमा आगो लागेको छ । महाभारतका वनमा समेत आगलागी भएको छ ।

आगलागीका कारण धेरै धनजनको क्षति, साना बोटबिरुवा र जङ्गली प्रजातिका वन्यजन्तु लोप भइरहेका छन् । वन समूहकै सदस्यबाट जङ्गलमा आफैँ डढेलो लगाउने, आगो लागेको देखे पनि नियन्त्रणमा सक्रियता नदेखाउनेलगायतका कारण जिल्लामा वर्षेनी डढेलोबाट ठूलो क्षति हुने गरेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार दुई महीनाको अवधिमा जिल्लामा ७०० हेक्टर बढी जङ्गलमा डढेलो लागेको छ । गत चैत महीनादेखि हालसम्म जिल्लाका २६ सामुदायिक वनको ७०८ दशमलव पाँच हेक्टर वन डढेलो लागेको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए । उनका अनुसार सबैभन्दा धेरै यो वर्ष घोराही उपमहानगरपालिका–४ मा रहेको पालुथान सामुदायिक वनमा क्षति भएको छ ।

उनका अनुसार पालुथानमा यो वर्ष १५० हेक्टर जङ्गलमा डढेलो लागेको छ । त्यस्तै सुनपुर सामुदायिक वनको १०० हेक्टर, सरस्वती सामुदायिक वनको १०० हेक्टर, सरजु सामुदायिक वनको ५५ हेक्टरमा डढेलो लागेको छ । यो वर्ष रामपुर क्षेत्रको सरयु सामुदायिक वन, पाण्डवेश्वरी, जनसेवा, धारापानी, मन्दिरको धार्मिक वन, धर्नाको जनभावन सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रलगायतका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी केसीले बताए । आगलागीका कारण जङ्गलमा बोट बिरुवासँगै वन्यजन्तुलाई समेत सङ्कटमा पार्ने डिभिजन कार्यालयले जनाएको छ । दाउरा पाइने, पातपतिङ्गर जल्यो भने जङ्गल जान सजिलो हुने, विषालु जीवजन्तु मर्छन् भन्नेजस्ता धारणाका कारण उपभोक्ताले जङ्गलमा डढेलो लगाउने गरेका छन् ।

दाङ जिल्लाका बस्तीसँगै वन क्षेत्र पनि आगलागीको उच्च जोखिममा रहेका छन् । चोरी सिकारी, लापरवाही, जानीजानी आगो लगाउनेलगायतका कारण वन जङ्गलमा आगो लाग्ने गरेको छ । अहिले डढेलो नियन्त्रणका लागि गतिविधि सञ्चालन भइरहेको छ । नियन्त्रणसम्बन्धी गोष्ठी, आगो नियन्त्रणको लागि उपयोग हुने सामग्री वितरणको काम भइरहेको छ । अग्निनियन्त्रणका लागि जिल्लामा चार वटा सवडिभिजन कार्यालयमा अग्निनियन्त्रक समूह गठन गरिएका छन् । जिल्लामा अम्बिकेश्वरी सवडिभिजन, सुनपुर सवडिभिजन, दङ्गीशरण र तुलसीपुरमा रहेका छन् । अग्निनियन्त्रणका लागि चारवटै सवडिभिजनमा अग्निनियन्त्रण समूह गठन गरिएका र ती समूहलाई अग्निनियन्त्रणमा उपयोेग हुने वाटर–ब्यागलगायतका सामग्री दिइएको छ ।

डिभिजन वन कार्यालयले भने जिल्लामा डढेलो नियन्त्रणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा सचेतना कार्यक्रम र सामग्री वितरणतर्फ रु पाँच लाख बजेट खर्च गर्न थालेको सूचना अधिकृत केसीले बताए । नेपालको संविधानमा राष्ट्रिय वन ऐनमा वनमा जानीजानी आगलागी गर्नेलाई दुई वर्ष कैद, रु १० हजार जरिवाना र क्षतिको बिगोसहित असुलउपर गर्ने व्यवस्था रहेको छ । गत वर्ष २१ सामुदायिक वनमा १२१ हेक्टर जमीनमा आगलागी भएको थियो ।
 
विपन्न परिवारलाई टिनको छानो
तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवास कार्यक्रमअन्तर्गत झण्डै ६०० घर जस्तापाता वितरण गरेको छ । उपमहानगरभित्र रहेका खरको छानो हटाउने नगरको उद्देश्यअनुरुप गत आवमा ५७० घरधुरीलाई जस्तापाता वितरण गरेको उपमहानगरले जनाएको छ ।

कार्यालयले तयार पारको मापदण्डअनुरुप नगरका १९ वटै वडामा खरको छानो भएका अतिविपन्न घरपरिवारलाई छनोट गरी उनीहरुलाई जस्तापाता वितरण गरिएको हो । कार्यालयले दिएको जानकारीअनुसार गत वर्ष रु एक करोड ११ लाख १७ हजार बराबरको एक हजार ६०७ बण्डल जस्तापाता वितरण गरिएको हो ।
 
वडा नम्बर १ मा २१, वडा नम्बर २ मा २३, वडा नम्बर ३ मा ३६, वडा नम्बर ४ मा ३०, वडा नम्बर ५ मा ५, वडा नम्बर ६ मा ४, वडा नम्बर ७ मा २८, वडा नम्बर ८ मा २४, वडा नम्बर ९ मा १०, वडा नम्बर १० मा २२, वडा नम्बर ११ मा ३१, वडा नम्बर १२ मा २४, वडा नम्बर १३ मा ३०, वडा नम्बर १४ मा २५, वडा नम्बर १५ मा ३१, वडा नम्बर १७ मा २६, वडा नम्बर १मा ३१ र वडा नम्बर १९ मा ४१ घरधुरीलाई जस्तापाता वितरण गरिएको उपमहानगरले जनाएको छ ।

वितरण गरिएको ५७० घरधुरीमध्ये १०३ घरधुरीले जस्तापाता पाए पनि अझै घरमा जस्तापाता लगाउन सकेका छैनन् । उनीहरुलाई घरमा छिट्टै जस्ताको छानो लगाउन उपमहानगरले आग्रह गरेको नगरका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । यस्तै उपमहानगरले जस्ताको छानो नभएका केही घरधुरीलाई आगामी आवमा पनि जस्ताको छानो वितरण गर्ने कार्यक्रम अगाडि सारेको छ । जसमा रु १२ लाख बराबरको जस्तापाता वितरण गर्न लागिएको छ । प्रवक्ता डाँगीका अनुसार यस वर्ष विशेषगरी शहीद परिवार, घाइते, अपाङ्ग र ज्येष्ठ नागरिक भएका घरधुरीलाई जस्तापाता वितरण गरिने छ भने आयश्रोत भएका परिवारलाई २० प्रतिशत अनुदानमा जस्ता वितरण गरिने छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ