arrow

एकता हैन घोचपेचले सकिँदैछ नेकपा 

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
nekapa.JPG

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको एक वर्ष पूरा भएको छ । मितिले यो दिन शुक्रबार सकिन्छ । अर्थात् २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । जेठ ३ त आयो नि कमरेडहरु !

तत्कालीन अवस्थामा तीन महिनाभित्रै सबै एकता प्रक्रिया टुंगो लगाउने भनेका नेताहरुले अहिलेसम्म त्यो प्रक्रिया सकेका छैनन् । पटक पटकको मिति सार्दै जाँदा अहिले आएर २०७६ जेठ ३ नै उत्तम समय भएको बताउँदै आएका छन् । 

तर लक्षण भने त्यो देखिँदैन । जवरजस्ती एकता भएको सुनाउन सकिए पनि वास्तविक रुपले त्यो मिति उपयुक्त हुने नदेखिने उनीहरुका व्यवहारबाटै स्पष्ट हुन्छ । 

पार्टीको महाधिवेशनका बेला मार्गदर्शक सिद्धान्त टुंगो लगाउने गरी एकता गरेका भए पनि त्यो महाधिवेशनको समयसम्म पनि नेताहरुले पर्खिने लक्षण ल्याएका छैनन् । 

यसको ट्रेलर बुधबार (२०७६ जेठ १ गते) राजधानीमा भएको युवा संघको कार्यक्रममा नेताहरुले देखाइसकेका छन् । 

एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘माओवाद’ लाई मर्ज गरेर ‘जनताको जनवाद’ लाई पार्टीको साझा सिद्धान्त मान्ने मौखिक सहमति भए पनि त्यो सम्भव नभएको बुधबारको कार्यक्रमले देखाइसकेको छ । 

तत्कालीन माओवादी अध्यक्ष एवं वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन एमाले महासचिव एवं वर्तमान नेकपा सचिवालय सदस्य र्इश्वर पोखरेलबीचको घोचपेचले त्यसलाई थप बल पुर्याएको छ । 

पद मिले पनि विचार नमिलेको देखाउन दुई नेताले युवा संघको स्थापना दिवस नै रोजेका रहेछन् । प्रचण्ड भन्दा पहिले कार्यक्रमलाई संबोधन गरेका पोखरेलले पार्टीले स्पष्ट वैचारिक कार्यदिशा नलिए कम्युनिष्ट पार्टी ‘तासको महल’ जस्तै ढल्ने चेतावनी दिए । 

उनले भने,’ अझै पनि हाम्रो पार्टीमा स्पष्ट राजनीतिक र वैचारिक कार्यदिशा छैन । त्यसबारे पार्टीभित्र छलफल जरुरी छ ।’

पछिल्लो समय बढी नै आक्रामक देखिएका पोखरेलले केही दिनअघि मदन भण्डारी फाउण्डेशनको एक कार्यक्रममा जनताको बहुदलीय जनवाद नै नेकपाको मार्गनिर्देशक सिद्धान्त हुनुपर्ने बताएका थिए । 

पाृखरेल जबजप्रति बढी नै सम्वेदनशील छन् । उनले गत वर्ष पार्टी एकता हुँदा पनि जबजलाई नै विशेष जोड दिएकामा माओवादीले नस्वीकारेपछि सुस्ताएका थिए । 

पोखरेलको धारणा सुनेर केही रनभुल्लमा परेका प्रचण्डले पनि भन्न बाँकी केही राखेनन् । उनले भने, ‘छोडिसकेका र पुराना विचार आत्मसात गरेर सुदृढ कम्युनिस्ट पार्टी बन्दैन ।’

यसको सीधा प्रहार नेता पोखरेलप्रति नै थियो । प्रचण्डले थप स्पष्ट पारे, ‘गीता, बाइबल र कुरान जस्ता धर्मशास्त्र मार्क्सवाद होइनन् । निरन्तरको प्रयोगपछि विकसित हुने सिद्धान्तलाई मान्‍नुपर्छ। छाडिसकेका सिद्धान्त त्याग्नुपर्छ।

प्रचण्ड र पोखरेलबीचको यो आरोप प्रत्यारोपरुपी भाषणका बेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल लगायतका नेताहरु पनि साक्षीका रुपमा बसेका थिए । 

दुई नेताबीचको दोहोरीकै परिणाम होला माधव नेपालले भनेका थिए –हामी दुई तिहाईमा छैनौं । हामीले पाएको ५५ प्रतिशत मात्रै मत हो । अलि बढी नै दम्भ पाल्यौं ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबारै भियतनाम र कम्बोडियाको भ्रमण गरी फर्के । ईश्वर पोखरेलले ओलीको बोली बोलेका थिए । 

यसबाटै स्पष्ट हुन्छ नेकपा अब एकताले हैन घोचपेचले सकिँदैछ । जेठ ३ गते शुक्रबारलाई गुड फ्राइडे हैन कतै ब्ल्याक फ्राइडे बनाइने त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ