arrow

मदन भण्डारीका हत्यारा पत्ता लगाउन कति समय लाग्छ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ? 

२६ वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
madan-bhandari-vidya-oli.jpg

काठमाडौं । २०५१ सालदेखि नेकपा एमाले (अहिले माओवादी केन्द्रसंग पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी) ले अहिलेसम्म मदन भण्डारीको नाम बेचिरहेको छ । २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । 

त्यसयता एमालेले मदन भण्डारीको नाम बेच्यो । अनि नेकपा भइसकेपछि पनि मदन भण्डारीकै नाम आइरहेको छ । तर मदन भण्डारीका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेन एमालेले । 

बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्ध पार्न भगवानले नै उनलाई यो धर्तीमा पठाएका हुन् । मदन भण्डारी हुँदा एक गासमात्र खाएका गरीवगुरुवाले पनि हाँसिखुशी उनलाई आशीर्वाद दिन्थे । 

मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । सादा जीवन उच्च विचार उनको नीति नै थियो । उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदानमा आउने हो भने चुनावमा जितेर देखाइदिने भाषण गरेर सबै नेताहरुको ध्यान आकृष्ट गर्न सफल भएका थिए । 

उनको वाहीवाही सम्भवतः कसैलाई पच्ने अवस्थाकै थिएन । उनी तिनै मदन भण्डारी थिए जसले ०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले हराएर तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद बन्न सफल भएका थिए । 

भट्टराईको ओज त्यतिबेला निकै चुलिएको थियो । ०४६ चैत २६ गते बहुदल आइसकेपछिका अन्तरिम प्रधानमन्त्री बनेका भट्टराईकै नेतृत्वमा नेपालको संविधान २०४७ आएको थियो । 

त्यो संविधानलाई लामो समयसम्म विश्वकै उत्कृष्ट संविधान भन्दै आएको अवस्था थियो । तिनै भट्टराईलाई हराएर मदन भण्डारीले आफ्नो ओजलाई झनै बढाएका थिए । 

तिनै मदन भण्डारीको ओज र उनको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले जरो गाड्दै गइरहेको थियो । यस्तो लाग्थ्यो नेपालको सबैभन्दा शिखरमा एक दिन उनै पुग्नेछन् । 

कल्पनाको सागरमा धेरै डुबे होलान् । तर अचानक तिनै भरोसालायक र नीतिमा स्पष्ट राजनेताको ०५० साल जेठ ३ गते पोखरामा भएको महिला संगठनको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भयो । 

मदन भण्डारीसंगै एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भयो । आश्चर्य रुपले जीपका चालक दुर्घटनाबाट बाँच्न सफल भए । 

त्यो घटनाले कम्युनिष्टमात्र होइन देशमा विकास चाहने हरेक दलका नेतालाई झस्कायो । पत्याउने गाह्रो भयो । उनलाई दैवले नै चुँडेर लग्यो । अल्पायुमा उनको निधन स्वभाविक थिएन । 

कसैलाई पनि विश्वास लागेन कि त्यो दुर्घटना भवितव्य थियो । अधिकांशलाई लाग्यो त्यो दुर्घटना गराइएको थियो । 

एमालेले सरकारलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन दबाब दियो । एमालेले तत्कालीन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई नै हत्याको दोष लगायो । सरकार नै हत्यामा सामेल भएको आरोप काँग्रेसले बेहोर्यो । 

तर अर्को वर्ष नै एमालेको सरकार आयो । एमालेले अब त सरकारमा भएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउला भन्ने अनुमान ‘अबुझ’ जनताले सोचे । 

सरकारमा भएका बेलामा एमालेले यो कुरालाई उठाउने कष्ट नै गरेन । त्यसो त त्यतिबेला हत्याको छानबिन गर्न केपी शर्मा ओलीको अध्यक्षमा आयोग नै गठन भयो । 

त्यो आयोगले भलै सरकारबाट सहयोग नभएको आरोप लगायो काम भने गर्न सकेन । अर्थात् यो विषयलाई राजनीतिक मुद्दामात्र गराइयो । 

नेपाली सर्वसाधारण त्यतिबेला अझ बढी झस्किए जतिबेला चालक अमर लामाको पनि रहस्यमय तरिकाले हत्या भयो । ०६० सालमा अमर लामालाई मारियो । 

अमर लामा नै चालक थिए उक्त दुर्घटना हुँदा । ०६० सालसम्म अर्थात् १० वर्षसम्म जिबित हुँदा उनले कतै पनि त्यो घटनाबारे साँचो कुरा बताएनन् । रहस्य खुल्ने खतराले लामाको हत्या गरिएको भन्ने पनि आयो । 

तिनै लामाका हत्यारा पनि अहिलेसम्म पत्ता लाग्न सकेनन् । तीनै जनाको मृत्यु रहस्यमयी भइरहेको छ । तर शंका उपशंका भने पहिलेदेखि नै गर्दै आरोप प्रत्यारोप लाग्दै आएको छ । विशेषगरी एमालेभित्रै पनि शंका गर्दै नेताहरुले आपसमा हिलो छ्याप्ने काम गरेकै हुन् । 

२६ वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै छ । दुर्घटना नै थियो भने अमर लामालाई किन चुप लाग्न लगाइयो ? हत्या थियो भने किन खुल्न सकेन ? के हत्याराहरु अहिले पनि स्थायित्वमै छन् त ? 

प्रश्न विद्यादेवी भण्डारीलाई 
०३९ सालमा तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसंग विद्याले भूमिगत अवस्थामै विवाह गरेकी थिइन् । उनका दुई छोरीहरु पनि छन् । जेठी छोरी उषाकिरण र कान्छी निशाकुशुम हुन् । 

विद्यादेवी राजनीतिक रुपले अग्रस्थानमा थिइनन् । तर मदन भण्डारीको निधनपछि उनी अगाडि आइन् । उनी शोकमै रहेका बेलामा मदन भण्डारीको निधनपछि काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार भइन् । 

प्रतिद्धन्द्धी फेरि पनि कृष्णप्रसाद भट्टराई नै भए । तर जितिन् विद्याले । त्यसपछि विद्याले कहिल्यै पछाडि फर्कन परेन । निरन्तर उनी एमालेको नेतृत्व तह वरिपरि रहिन् । महिला संगठन प्रमुख भइन् । पार्टीको उपाध्यक्ष भइन् । राष्ट्रपति पनि भइन् । 

विद्या दुई पटक राष्ट्रपति भएकी छिन् । उनको जस्तो अवसर नेपालको कुनै पनि व्यक्तिले पाउन सकेको छैन । उनी मुलुकको सर्वोच्च स्थानमा रहँदा पनि उनका पतिका हत्यारा पत्ता लगाउन सकिएन । 

विद्याले जहिल्यै दुःखेसो पोख्ने गर्छिन् कि मदन भण्डारीका हत्या नै भएको हो । यदि हत्या भएको हो भने सर्वोच्च पदमा भएको व्यक्तिले यो घटनालाई पत्ता लगाउन किन संयन्त्र प्रयोग गर्न सक्दैन ? 

०५० सालमा जुन घटना भयो त्यतिबेला सरकार एमालेको थिएन । त्यसैले सहयोग भएन होला अनुसन्धानका लागि त्यसपछि पटक पटक सरकार एमालेका बने । खोइ त ? अब त एमालेलाई प्रश्न गर्ने बेला आएको छ खोइ त मदन भण्डारीका हत्यारा पत्ता लगाउन पर्दैन ? 

तिनै मदन भण्डारीको नीति र व्यक्तित्वकै कारण विद्यादेवी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् । तर आज तिनै विद्याले हत्यारा पत्ता लगाउनका लागि कुनै पहल नगर्नु राजनीति शिवाय के हुन सक्ला ? 

विद्या दुई पटक राष्ट्रपति भइसकेकी छिन् । के मदनलाई भुलेकै हुन् ? 

केपी शर्मा ओलीलाई प्रश्न 
केपी शर्मा ओली मदन भण्डारीको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिका अध्यक्ष हुन् । उनले केही पनि पत्तो लगाएनन् । केवल असहयोगी दोष काँग्रेस सरकारलाई लाग्यो । जबकि काँग्रेसले केही गरेजस्तो कतैबाट पनि आएन । 

तर मदन भण्डारीका हत्यारा पत्ता लगाउन भन्दै दवावस्वरुप संसद अवरुद्ध गर्नेदेखि सडक तताउनेसम्मको काम एमालेले गरेको थियो । 

आजको दिनसम्म आइपुग्दा एमालेका चार जना त प्रधानमन्त्री नै भए । स्वर्गीय मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली । 

केपी ओली प्रधानमन्त्री भएपछि यो घटनालाई उजागर गर्छन् कि भन्ने लागेको थियो । त्यो सम्भावना उनले पनि ल्याएनन् । ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । उनले अझै पनि हत्यारा पत्ता लगाएरै छाड्ने बताएका छन् । 

आखिर के यो पनि राजनीतिकै पाटो हो त ? होइन भने प्रधानमन्त्री ओलीलाई कुन शक्तिले रोकेको छ हत्यारा पत्ता लगाउन ? होइन भने मदन भण्डारीको नाम जोडेर राजनीति गर्न अब बन्द पो गर्ने हो कि ?

अहिले त एमाले पनि ठूलो भयो । माओवादीसंग मिलेपछि पार्टी नेकपा भयो । झन् ठूलो भयो । जेठ ३ आउँदा मदन भण्डारीको जनताको बहुदलीय जनवाद जबजले ठाउँ पाएको छ । तत्कालीन एमालेका नेताहरु फेरि मदनलाई सम्झिरहेका छन् । तर हत्यारा कहिले पत्ता लाग्छ ? 

सम्बन्धित समाचारहरु–

मदन भण्डारीबारे राष्ट्रपति र प्रधानमन्त्री ओलीको मुख खुल्ने प्रतिक्षामा

मदन भण्डारीका हत्यारा किन खोज्दैनन् विद्या र केपी ?

अझै कति समय लाग्ने हो मदन भण्डारीका हत्यारा पत्ता लगाउन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली ज्यू ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ