arrow

गुगलको प्रतिबन्ध र हुवावेईको स्मार्टफोनको बजार

logo
एजेन्सी,
प्रकाशित २०७६ जेठ ७ मंगलबार
huawei-android.jpg

काठमाडौं। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले सोमवार हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ। साथै उसले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा पनि रोक लगाएको छ। अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई लगाएको प्रतिबन्धसँगै विश्व बजार तरङ्गित बन्न पुगेको छ।

यो निर्णयसँगै हुवावेईको अहिलेको फोनमा एपहरू र गूगल प्ले सर्भिसको अपडेट गर्न त मिल्नेछ, तर कम्पनीले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ डिजाइनका स्मार्टफोनमा भने नयाँ संस्करणको एन्ड्रोइड उपलब्ध हुनेछैन। भविष्यमा आउन सक्ने उपकरणहरूमा यूट्युब र गूगल म्याप्स लगायत एप पनि हुनेछैनन्। अन्य अमेरिकी कम्पनीहरु इन्टेल कर्पोरेशन, क्वालकम इंक, सिलिङ्स इंक र ब्रोडकम इंक लगायत अमेरिकी प्रविधि कम्पनीले नयाँ सूचना जारी नहुँदासम्मका लागि हुवावेईलाई चिप आपूर्ति बन्द गर्न आआफ्ना कर्मचारीलाई आदेश दिएका छन्।

व्यापारयुद्धको असर 
गुगलले सोमवार हुवावेईमाथिको प्रतिबन्धको निर्णय गर्दै आफूले अमेरिकी सरकारको निर्देशनअनुसार यस्तो निर्णय गरेको बताएको छ। यसअघि गत बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेईसँग व्यापारमा रोक लगाउन अमेरिकी प्रविधि कम्पनीलाई निर्देशन दिएका थिए। केहि समयदेखि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेईमाथि निशाना साँध्दै आएको छ।

अमेरिकामा हुवावेईका दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा पनि रहेका छन्। अमेरिकाले हुवावेईले चीनको लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै आएको छ। तर, कम्पनीले भने यो आरोपको खण्डन गर्दै आएको छ। अन्तिम समयमा हुवावेई सरकारलाई कुनै पनि विवरण नदिने विषयमा हस्ताक्षर गर्नका लागि पनि सहमत भएको थियो। हुवावेईको यो निर्णयको बीचमा ट्रम्पले प्राविधिक आपतकालको घोषणा गर्दै हुवावेईलगायत चिनियाँ कम्पनीसँग व्यापार नगर्नका लागि सुझाएका थिए। 

अमेरिकासँग चिसिँदो सम्बन्ध 
पछिल्लो केही समययता अमेरिकासँग हुवावेईको सम्बन्ध चिसिँदै गएको देख्न सकिन्छ। गत डिसेम्बरमा अमेरिकाको आग्रहमा हुवावेईकी प्रमुख वित्तीय अधिकारी मङ वान्चाउ क्यानडामा पक्राउ परेकी थिइन्। हुवावेईले अमेरिकाको इरान प्रतिबन्धको पालना नगरेको आरोप अमेरिकाले लगाएको छ। हुवावेईले भने यसको खण्डन गरेको छ। कम्पनीले विशुद्ध व्यापारबाहेक कुनै पनि काम नगरेको बताउने गरेको छ।

अमेरिकाले क्यानडामा पक्राउ परेकी वान्चाउको सुपुर्दगीको माग गरिरहेको छ। चीनले भने उनको रिहाइको माग गर्दै आएको छ। उनको पक्राउपछि चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेको छ। अमेरिका र क्यानडाले पनि उनीहरुको पक्राउ उचित नरहेको बताउँदै आएका छन्। अमेरिकाले व्यापारयुद्धमा सहमति भए वान्चाउलाई रिहाका लागि पहल गर्ने बताएको थियो। तर, अन्तिम चरणमा रहेको भनिएको वार्तामा पनि सहमति हुन नसकेपछि दुई मुलुकको व्यापारवार्ता टुटेको छ। यससँगै चिनियाँ प्रविधि कम्पनीलाई आगामी दिनमा थप समस्या उत्पन्न हुनसक्ने देखिन्छ।

५जीको लडाइँ
हुवावेईमाथि अमेरिकाले प्रतिबन्ध लगाउनुको अर्को महत्वपूर्ण कारण ५जीको लडाइँ पनि हो। पाँचौं पुस्ताको इन्टरनेटका लागि अहिले अमेरिका र चीन अघि बढिरहेका छन्। यस्तोमा चिनियाँ कम्पनीभन्दा पहिला ५जी सेवा ल्याउनका लागि अमेरिका अघि बढिरहेको छ। अमेरिकाले हुवावेईको ५जी उपकरणमा सुरक्षाको जोखिम रहेको भन्दै आफ्ना सहयोगी मुलुकलाई पनि प्रतिबन्ध लगाउन आग्रह गर्दै आएको छ। हुवावेईले ५जी उपकरणका साथै ५जी स्मार्टफोन पनि सार्वजनिक गरिसकेको छ। हुवावेईको ५जी प्रविधिमा अंकुशका लागि पनि अमेरिकाले हुवावेईमाथिको प्रतिबन्धको घोषणा गरेको हो। 

हुवावेईलाई कस्तो प्रभाव ? 
यस वर्षको पहिलो त्रैमासमा हुवावेईको स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढेको छ। जबकी अमेरिकी प्रविधि कम्पनी एप्पलको आपूर्ति ३० प्रतिशत घटेको छ भने दक्षिण कोरियन कम्पनी सामसुङको आपूर्ति ८ प्रतिशतले घटेको छ। विश्वको समग्र स्मार्टफोनको बजारमा हुवावेईले १९ प्रतिशत हिस्सा आगटेको छ। यस वर्षको पहिलो तीन महीनामा मात्र उसले ५ करोड ९१ लाख स्मार्टफोन बिक्री गरेको थियो। 

सन् २०१८ मा हुवावेईको समग्र वार्षिक आम्दानी १ खर्ब डलर नाघेको थियो। यो अवधिमा कम्पनीको आम्दानी १९ दशमलव ५ प्रतिशतले बढेको हो। यस्तोमा अहिले गुगलले लगाएको प्रतिबन्धसँगै हुवावेई समस्यामा पर्नसक्ने देखिन्छ। विशेषगरी कम्पनीको चीनबाहिरको स्मार्टफोन व्यापारमा उल्लेख्य कमी आउनेछ। चीनमा गुगलका धेरै सेवामा रोक लगाइएको अवस्थामा हुवावेईमाथिको प्रतिबन्धले धेरै ठूलो असर नगर्न पनि सक्छ। तर, चीनभन्दा बाहिर भने गुगलका सेवाको लोकप्रियता बढ्दो क्रममा छ। यस्तोमा प्रयोगकर्ता अन्य कम्पनीको स्मार्टफोनमा आकर्षित बन्न सक्छन्। 

अबको बाटो
व्यापारयुद्धमा चीन अमेरिकासँग टसमस नहुने दिशामा अघि बढेको छ। यो अवस्था जारी रहेको खण्डमा हुवावेईमाथि गुगलले लगाएको प्रतिबन्ध कम हुने सम्भावना छैन। त्यसका लागि चीन र अमेरिकाको बीचमा वार्ता हुनसक्छ। अमेरिकाले वार्ताका लागि घुँटा टेकाउनैका लागि चिनियाँ कम्पनीमाथि प्रतिबन्धको योजना अघि सारेको हो। तर, चीनले भने अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताइएको छ। दुई मुलुकको बीचमा व्यापार वार्ता हुन नसकेको खण्डमा हुवावेईले गुगलको विकल्प खोज्नुपर्ने हुन्छ। जुन हुवावेईको लागि निकै कठिन मार्ग हो। हुवावेईका सबै स्मार्टफोन गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा काम गर्छन्। यस्तोमा अहिलेको प्रतिबन्धबाट पार पाउन हुवावेईले आफ्नै अपरेटिङ सिस्टम बनाउनुपर्ने हुन्छ। 

दुई महिनाअघि साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार हुवावेईले आफ्नै अपरेटिङ सिस्टम बनाएको छ। हुवावेई विगत ७ वर्षदेखि आफ्नै अपरेटिङ सिस्टमका लागि काम गर्दै आएको उक्त समाचारमा उल्लेख गरिएको थियो। तर, यस विषयमा हुवावेईले भने कुनै औपचारिक जानकारी दिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ