arrow

एन्फा विधानसम्मत नै चलेको छ – वरिष्ठ उपाध्यक्ष नेम्वाङ

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
pankaj-nemwang.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फा विधानसम्मत नै चलेको दावी गरेका छन् । 

गत बैशाख ३१ गते वरिष्ठ उपाध्यक्ष चुन्ने लगायतका एजेन्डाका लागि काठमाडौंस्थित बुढानीलकण्ठको पार्कभिलेजमा बसेको एन्फा कार्यसमितिको बैठक पनि संशोधित विधान अनुसार नै बसेको उनको दावी छ ।  

एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वाचित भएकामा नेम्वाङले सबैभन्दा बढी मत पाएकाले उनी नै वरिष्ठ उपाध्यक्ष बन्ने चर्चा गत वर्षको बैशाख २२ गतेदेखि नै थियो । तर एन्फाले ढिला गरी वरिष्ठ उपाध्यक्ष छनोट गरेको हो । 

एन्फाको वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष वीरबहादुर खड्का पनि आकांक्षी थिए । निर्वाचित चार उपाध्यक्षमध्येबाट एक जनालाई वरिष्ठ बनाउने प्रावधानअनुसार नेम्वाङ बैशाख ३१ गते सर्वसम्मत भएका थिए । 

तर त्यो बैठक भने असन्तुष्ट उपाध्यक्ष खड्का र दुई केन्द्रीय सदस्यले त्यागेका थिए । उनीहरुको भनाइमा विधान विपरीत बैठक बोलाइएको भन्ने थियो । १४ दिनको म्याद दिनुपर्नेमा केवल सात दिनमात्र राखेर दिइएको भन्दै खड्काले असन्तुष्ट व्यक्त गरेका हुन् । 

यसबारेमा स्पष्ट पार्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङ भन्छन्, ‘एन्फाको भेलाले गत वर्षको साउन २९ गते बैठक र साउन ३० गते बसेको विशेष साधारण सभाले चितवनमा विधान संशोधन गरेको थियो । त्यहाँनेर हामीले साधारण सभाका लागि ६० दिन अगाडि नै खवर गर्नुपर्छ भनिएको थियो । सुधार गरेर ३५ दिनमा झार्यौं । केन्द्रीय समिति बैठक पनि १४ दिनबाट ७ दिनमा झार्यौं । त्यो विधानलाई हामीले राष्ट्रिय खेलकुद परिषद राखेपको अनुमतिमा राखेपका प्रतिनिधिको रोहवरमा संशोधन गरेका थियौं ।’

थप स्पष्ट पार्दै उनले भने, ‘त्यसपछिका बैठक र साधारण सभा संशोधित विधान अनुसार नै गरिएको थियो । विराटनगरमा गत चैत ९ मा बसेको बैठक पनि संशोधित विधान अनुसार नै थियो ।’

आश्चर्यमा पर्दै उनले भने, साथीहरुको भनाइ छ कि राखेपको छाप बिना नै विधान लागू गरियो । तर दुर्भाग्य उहाँहरुको संशोधनमा सहमति छ । त्यसपछिका बैठकमा सहमति छ । अनि अहिले आएर कसरी विधिसम्मत भएन त ?’

उनले बैठक त्यागेका सदस्यहरुलाई प्रश्न गर्दै भने, ‘कुनै बैठक विधि सम्मत हुने र कुनै बैठक विधिसम्मत नहुने भन्ने पनि हुन्छ त ?’ 

नेम्वाङले यसरी भनिरहँदा अर्को आश्चर्य लाग्दो प्रसङ्ग त के छ भने विद्रोही स्वभाव देखाएका उपाध्यक्ष खड्कासहित तीनै जनाले संशोधित विधान अनुसार बसेको बैठकले पास गरेका सेवा सुविधा लिएका छन् । 

आफू सुहाउँदो बैठक भएन भने विधान सम्मत भएन भनेर भन्ने चलन नै गलत भएको स्पष्ट छ । एन्फाको एक स्रोतका अनुसार आफूले वरिष्ठ उपाध्यक्ष नपाउने पक्का भएपछि खड्काले बैठक त्यागेका थिए । 

एन्फाको अर्को केन्द्रीय समिति बैठक यही जेठ १७ गते बस्दैछ । यो बैठकमा भने सहभागीता जनाउने सहमति खड्काले जनाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ