arrow

निरन्तर शनिबारमा स्वप्निल स्मृति र केशव सिलवाल

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
nirantar-sanibar2.jpg

काठमाडौं। निरन्तर शनिबारको यस पटकको शृङ्खलामा कविद्वय स्वप्निल स्मृति र केशव सिलवालले आफ्नो रचना सहित धारणा राखेका छन्। 

निरन्तर शनिबारका संस्थापक सदस्य समेत रहेका कवि स्वप्निल स्मृतिले तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ घोषणा गरेपछि लोकतान्त्रिक आन्दोलनको एउटा मोर्चाको रूपमा निरन्तर शनिबार सुरु भएको जानकारी गराए। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको त्यस समयका पत्रपत्रिकाहरुमा सेनाका जर्नेलहरु रहेको सेन्सर बोर्डबाट पास भएका सामग्री मात्र छापिने र सेन्सर बोर्डले कैँची चलाएको ठाउँमा खालीनै छापिने गरेको प्रसङ्ग पनि सुनाए। 

सिर्जनशील विद्यार्थी नेताहरुको अगुवाईमा यो शृङ्खला सुरु भएको र पुलिसको आँखा छलेर कार्यक्रम सञ्चालन गर्नु पर्ने भए पनि त्यसबेला कार्यक्रममा उल्लेखनीय सहभागिता रहने गरेको स्वप्निलले स्मरण गरे। निरन्तर शनिबारको फोरमबाट नेपाली साहित्य र राजनीतिमा थुप्रै प्रतिभाहरुको उदय भएकोमा खुसी व्यक्त गर्दै उनले भने अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने गरी मिडिया विधेयक ल्याउन खोजेको भन्दै अहिलेको सरकारप्रति आक्रोश व्यक्त गरे।

सोमबार बिहान शिव मन्दिर गए झैँ शनिबार बिहान कविहरु निरन्तर शनिबारमा आउँदा उर्जा प्राप्त हुने धारणा राख्दै कवि स्मृतिले एक मिनेट मौन धारण, हराएकाहरु, फेरि आफैँलाई, सीतादेवी नेपाली गरी चार वटा कविता सुनाए।

यसैगरि कवि केशव सिलवालले निरन्तर शनिबारको ऐतिहासिकता थाहा पाउँदा आफूलाई गौरवानुभूति भएको र प्रतिरोधी चेतनाको विकासमा निरन्तर शनिबार जस्ता अभियानहरुको उल्लेखनीय भूमिका रहने गरेको बताए। प्रत्येक हप्ता कार्यक्रम सञ्चालन गर्ने कुरा निकै कठिन हुँदाहुँदै पनि निरन्तर शनिबारले त्यसलाई सम्भव बनाएकोमा बधाई ज्ञापन गरे। कार्यक्रममा उनले तुइनमा झुन्डिएकी केटी, देश अर्थात् कम्पनी, लोकल, हेडमास्टरको चाबुक गरी चार वटा कविता सुनाए।

त्यसैगरी यस पटकको शृङ्खलामा टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, केवल कार्की,  बच्चु हिमांशु, सुविन खनाल, सुवास पराजुली,  अन्मेश राई, सुजन अधिकारी, रीता पुन, सरिता पाण्डे, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु कविता, गीत, गजल, मुक्तक सुनाएका थिए ।

कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम  रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट आउँदो शनिबार बिहान सात बजे प्रसारण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ