arrow

मालुमेला झिलीमिली हुँदा स्थानीयद्धारा उत्सव

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ जेठ १४ मंगलबार
photo_mulumelaa.jpg

बझाङ । पुस्तौदेखि अध्यारो रहेको थलारागाउँपालिका ९ मालुमेला आईतबारबाट झिलीमिली भएपछि स्थानीयले उत्सव मनाएका छन् । स्थानीयहरुले  जडारीगाड दोस्रो लघुजलबिद्युत आयोजनाको  उद्घाटन गरी उत्सव मनाएका हुन् । 

जडारीगाडमा पावर हाउस रहेको ५२ किलो वाट क्षमता रहेको यस आयोजनाबाट साबिकको मालुमेला गाबिसका ५ सय ५० घरधुरीमा बत्तीको  सुबिधा पुगेको छ । बिजुली पुगेसंगै यस क्षेत्रका स्थानीयहरु उत्साहित भएका छन् । 

जलबिद्युत आयोजनाका सचिब लोकेन्द्र बिष्टले दुर्गममा रहेको आफ्नो वडामा रहेका सबै घरधुरीमा बत्ती बाल्न पाउँदा गाउँलेहरु हर्षित भएको बताए । उनले भने “लामो समयको संघर्ष र पहलबाट गाउँ झिलिीमिली बनाएका छौं, अब बिजुलीलाई ब्यबसायमा उपयोग गरी स्वारोजगारका कार्यक्रममा जोड दिने छौं ।” 

आयोजना निर्माणका लागि मालुमेलाका बासिन्दाहरुले बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रबाट एक करोड पाँच लाख र थलारा गाउँपालिकाबाट ३८ लाख गरी एक करोड ४२ लाख खर्च गरेका थिए । आइतबार औपचारिक उद्घाटन समारोह गर्दै संविधान सभा सदस्य मान प्रसाद खत्रीले पावर हाउसमा मेसिन चलाउनका साथै रिबन काटेर बत्ती जलाएका थिए ।

स्थानीयहरुले पावर हाउसबाट बाजागाजा सहित स्थानीय चर्केश्वर मा बि मा नाचगान सहित देउडा खेलेर उत्सव मनाएका थिए । कार्यक्रममा यस क्षेत्रका अग्रज देउडा खेलाडी नरेन्द्र राज रेग्मी सहित बिभिन्न कलाकारहरुको प्रस्तुतिमा स्थानीयले रमाईलो गरेका थिए । 

मालुमेला वडामा एक दुई वटा बस्ती सेतीको बगर तिर र अन्य बस्तीहरु अग्ला डाँडामा भएकाले राज्यका बिभिन्न सेवा सुबिधाको पहुचमा पुग्न सकेको छैन । बिद्युत बलेको खुशी भएको बताउदै स्थानीय बिद्यार्थी कमला बिष्टले गाउँ घरमा एक दुई परिवारले सोलार राखेको भएपनि अधिकाशं परिवारहरु टुकी र झरो बाल्ने गरेको र सबै घरमा बिजुली पुगेपछि अध्यारो मुक्त भएको बताइन् । 

२०५२ सालदेखि निर्माण कार्य सुरुवातमा लागेका मालुमेला बासीहरुले बिभिन्न प्रयास पछि बल्ल बिद्युत बाल्ने सपना पुरा भएको स्थानीय बिश्व प्रकाश जोशीले बताए । उनले परियोजना सफल गर्न संबिधान सभा सदस्य मानप्रसाद खत्री र सचिब लोकेन्द्र बिष्ट सहित अन्य ब्यक्तिहरुको अथक प्रयास रहेको बताए । 

हाल सन्चालन भएका जिल्लाका ५८ वटा ग्रामिण लघु जलबिद्युतमध्ये यो आयोजनाको नहर पनि पक्की भएको खोेलाको मुहान पनि नजिक रहेको पावर हाउस पनि सुरक्षीत स्थानमा रहेकाले यो आयोजना दिगो हुने देखिन्छ । 

हालै मात्र जिल्ला सदरमुकाम चैनपुरमा मात्र बितरण भएको राष्ट्रिय बिद्युत प्रसारणले बिद्युत सेवा दिएको भएपनि जिल्लाका अधिकाशं ग्रामिण बस्तीमा भने ग्रामिण लघुजल विद्युतबाट गाउँ झिलीमिली पारि रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ