arrow

पाँच मिनेटको ब्याटिङ हेरेर इमरानले छानेका थिए विश्वकपको टोली

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १४ मंगलबार
imran.jpg

काठमाडौं । विश्वकप क्रिकेट २०१९ आउन अब २ दिन मात्र बाँकी छ । यस्तोमा विश्वका सबै मुलुक यो उपाधि हासिल गर्न तयारी गरिरहेका छन् । यस्तै तयारीमा रहेको एक मुलुक हो – पाकिस्तान । पाकिस्तानले एकपटक विश्वकपको उपाधि जितेको छ । सन् १९९२ को विश्वकपमा पाकिस्तानले उपाधि जितेको थियो । 

उक्त विश्वकपमा अष्ट्रेलिया र इंगल्याण्डलाई नै उपाधिको दाबेदार मुलुक मानिएको थियो । भारतलाई पनि राम्रै टोली मानिएको थियो तर पाकिस्तानले विश्वकप जित्ने अनुमान निकै कमले मात्र गरेका थिए । यो टोलीका कप्तान वर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान थिए । 

इमरान खान विश्वकपभन्दा केही समयअघि नै सन्यास लिने योजनामा थिए । तर, उनको राम्रो प्रदर्शनलाई लिएर पाकिस्तानका पूर्वराष्ट्रपति जिया–उल हकले उनलाई विश्वकपसम्म खेल्न मनाएका थिए । त्यसपछि उनी पुनः टोलीमा फर्किएका थिए र कप्तान बनेका थिए । 

उनले इंजमाम–उल–हक, वसीम अकरमजस्ता युवा खेलाडीलाई भरोशा दिलाउँदै विश्वकपको टोलीमा सामेल गरेका थिए । कुनै समय पाकिस्तानका टोलीका चयनकर्ता इंजमामलाई टोलीमा नराख्ने पक्षमा थिए । तर, इमरानले आफूले ५ मिनेट इंजमामको ब्याटिङ हेरेको र आफू्लाई यी खेलाडीमा उल्लेख्य प्रतिभा छ भन्ने कुरामा विश्वास भएको बताएका थिए । 

अन्तिममा इमरानले आफूले रोजेको टोली पाएका थिए । पाकिस्तानले लिग चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई रमीज राजाको शतकको सहयोगमा हराएको थियो । तर, सेमिफाइनलमा पाकिस्तान निकै कठिन अवस्थामा पुगेको थियो । २ सय ६३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १ सय ४० रन बनाउँदा आफ्नो महत्वपूर्ण विकेट गुमाउन पुग्यो । 

यसै क्रममा इंजमामले ३७ बलमा शानदार ६० रनको पाली खेल्दै मियांदादसँग ८७ रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । इमरान खानको इंजमामलाई टोलीमा लिने फैसला सही साबित भयो । अन्तिममा फाइनलमा इंगल्याण्डलाई हराएर पाकिस्तान विश्वविजेता बन्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ