arrow

ट्रम्पको नीतिले चीनको पोल्टामा जाँदै अमेरिकाको प्रविधि वर्चस्व

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
trump-xi-tradewar.jpg

काठमाडौं। अहिले विश्वमा अधिकांश प्रविधिमा अमेरिकाको वर्चस्व छ। यस्तोमा अमेरिकाको प्रविधिको वर्चस्व कायम राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही नीति पनि अघि सारेका छन्। तर, उनको नीतिको उल्टो नतिजा देखिनसक्ने खतरा बढेको छ। पछिल्लो केही वर्षयता चिनियाँ कम्पनीको विस्तार व्यापक मात्रामा भइरहेको छ। यस्तोमा अमेरिकाले चिनियाँ कम्पनीले अमेरिकाको प्रविधिको चोरी गरेको आरोप लगाउने गरेको छ। 

यसैबीच अमेरिकाले चिनियाँ कम्पनीमाथि रोक लगाउन शुरु गरेको हो। सोही क्रममा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईमाथि पनि अमेरिकाले प्रतिबन्धको निर्णय गरेको छ। तर, उसले यो निर्णय आगामी अगष्ट १९ सम्मका लागि स्थगित गरेको छ। त्यसपछि हुवावेईले अमेरिकी कम्पनीबाट विना कुनै अनुमति सामग्री खरीद गर्न पाउँदैन। अमेरिकाको यो निर्णयसँगै गुगलले पनि हुवावेईमाथिको प्रतिबन्धलाई स्वीकार गर्ने बताइसकेको छ।

यसैबीच हुवावेईले भने अमेरिकी कम्पनीको विकल्प खोज्न थालेको छ। हुवावेईले गुगलले दिँदै आएको अपरेटिङ सिस्टम तथा अन्य सेवाको विकल्प खोज्न शुरु गरेको छ। त्यसका लागि हुवावेईले अबको केही महीनामा आफ्नै अपरेटिङ सिस्टम (ओएस) ल्याउने तयारी गरेको छ। यसअघि कम्पनीले केही महीना ढिला गरेर ल्याउने तयारी गरेको यो प्रणाली अमेरिकाले लगाएको प्रतिबन्धपछि भने छिटै ल्याउने तयारी गरिएको हो। यसले गुगलको एन्ड्रोइडलाई विस्थापित गर्नसक्ने विश्लेषकले बताएका छन्। 

हुवावेईका कन्ज्युमर विजनेशका सीईओ रिचार्ड यूले अपेक्षा गरिएभन्दा पहिला नै हुवावेईको ओएस आउने बताएका हुन्। यससँगै हुवावेईका अबको स्मार्टफोनमा आफ्नै ओएसको स्मार्टफोन आउनसक्ने देखिएको छ। हुवावेईले सन् २०१२ देखि यो प्रविधिको विषयमा काम गरिरहेको थियो।

गुगलले हुवावेईमाथि प्रतिबन्ध लगाएसँगै हुवावेईको नयाँ ओएसको विषयले चर्चा पाएको हो। यसअघि हुवावेईले ल्याउन लागेको नयाँ ओएस गुगल प्ले स्टोरविना खासै प्रयोगका लागि उपयुक्त नहुने बताएका थिए। तर, रिचार्ड यूले भने अब बजारमा आउन लागेको हुवावेईको अपरेटिङ सिस्टममा सबै एन्ड्रोइड एप्लिकेशन उपलब्ध हुने बताएका छन्। यूले एन्ड्रोइड सिस्टमको तुलनामा हुवावेईको ओएस ६० प्रतिशत छिटो हुने दाबी गरेका छन्। 

हुवावेईको नयाँ ओएसको विषयमा विभिन्न किसिमका विवाद पनि देखिएका छन्। हुवावेईको ओएसको विषयमा आएका विवरणअनुसार यो ओएस अझै पनि प्रयोगका लागि उपयुक्त देखिएको छैन।

गत वर्ष सार्वजनिक भएको एक प्रतिवेदनले हुवावेईले आफ्नै ओएस निर्माणको तयारी गरिरहेको देखाएको थियो। प्रतिवेदनअनुसार सन् २०१२ मा हुवावेई र जेटीईमाथि भएको अनुसन्धानपछि हुवावेईले यस्तो योजना ल्याएको थियो। हुवावेईसँग आफ्ना ट्याबलेट र पर्सनल कम्प्युटरमा भने आफ्नै ओएस छ। यस्तोमा गत वर्ष के चीनलाई ब्याकअपको रुपमा एउटा ओएस आवश्यक छ ? भन्ने विषयमा प्रश्न चिह्न खडा भएको थियो। 

यसैबीच हुवावेईका संस्थापक रन चङफईले गुगलको प्रतिबन्धले कम्पनीलाई कुनै पनि असर नगर्ने बताएका थिए। उनले अमेरिकी नेताले आफ्नो कम्पनीको क्षमताको नजरअन्दाज गरेको बताएका छन्। उनले यसका लागि हुवावेईले गुगलसँग थप वार्ता गरेर यो विषयलाई समाधान गरिने पनि बताएका छन्।

यस्तोमा हुवावेईले आफ्नै ओएसबाट सेवा प्रदान शुरु गरेको खण्डमा गुगलको आम्दानीमा उल्लेख्य कमी आउने एक प्रतिवेदनले देखाइसकेको छ। त्यसका साथै चीनले अर्को अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि पनि प्रतिबन्ध लागाउनसक्ने अनुमान गरिएको छ। यस किसिमको प्रतिबन्धले एप्पलको आम्दानीमा पनि २९ प्रतिशत कमी आउनसक्ने एक प्रतिवेदनले देखाएको छ। गुगल र एप्पल अमेरिकाको प्रविधि क्षेत्रका निकै महत्वपूर्ण कम्पनी हुन्। यस्तोमा यी कम्पनीको आम्दानीमा कमी आउनु र हुवावेई सफल हुनुले विश्वको प्रविधिको वर्चस्व पनि अमेरिकाको हातबाट चीनतर्फ जानसक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ