खेलकूदमा तीन अर्ब ९९ करोड बजेट

प्रकाशित मिति : २०७६ जेठ १५ बुधबार

 

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरिएको बताए ।

सरकारले काठमाडौँस्थित निर्माणाधीन मूलपानी क्रिकेट मैदान आगामी दुई वर्षसम्म सम्पन्न गर्न रु १० करोड विनियोजन गरेको छ ।

काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर निर्माण गर्ने, सबै प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने भएको छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरीने, १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट छुट्ट्याइएको अर्थमन्त्री खतिवडाले बताए ।

 साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौँ र पोखरामा हुँदैछ । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययनसमेत गरिने अर्थमन्त्री खतिवडाले बताए । बजेटमा सङ्घ, प्रदेश र स्थानीय तहमा खेलाडीलाई प्रशिक्षण र क्षमता विकासका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ