पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने

प्रकाशित मिति : २०७६ जेठ १८ शनिबार

कैलाली। पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले बताएका छन्।

शुक्रबारबाट कैलालीको धनगढीमा आयोजित पत्रकार महिलाका लागि लैंगिक समता र सुरक्षा सम्बन्धी दुई दिने प्रदेशस्तरीय तालिमको उद्घाटन गर्दै रावलले पत्रकार महिलाको क्षमता बृद्धिसंगै कार्यस्थल र अन्य समयमा भोग्नुपरेका सुरक्षा चुनौतिबारे सरकारले पनि गम्भिरता लिनुपर्ने बताए।

‘‘अहिले देशैभरिका पत्रकार मिडिया काउन्सिल विधेयकका विरुद्धमा लडिरहेका छन् ।’’ सांसद रावलले भने ‘‘मिडिया स्वतन्त्र नभए सबैभन्दा पहिलो निशानामा महिला पत्रकार पर्छन् ।’’ उनले पत्रकारको क्षमता अभिबृद्धिका लागि आफूले प्रदेश सरकारमा नीति निर्माणका साथै योजना ल्याउन पहल गर्ने बताए। 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले पत्रकार महासंघले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धिका लागि पहल गरिरहेको बताए। ‘‘ यतिखेर स्थानीय सरकारले पनि पत्रकार उत्पादन र गुणात्मक बृद्धिका लागि लगानी गरिरहेका छन् ।’’ उनले भने ‘‘धेरै महिला नेतृत्वमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । सरकारले लगानी गरेको छ त्यसको सदुपयोग तपाईहरु गर्नुस् ।’’

बरिष्ठ पत्रकार मनमोहन स्वाँरले पछिल्लो समय कार्यक्षेत्रमा पत्रकार महिलाले भोग्ने समस्याबारे बहस हुन थालेको बताउँदै पत्रकार महिलाहरु पनि सचेत बन्दै गएको बताए। स्वाँरले पत्रकार महिलाका लागि सहज वातावरण बनाउन सहकर्मी पुरुषको भूमिका पनि हुनुपर्ने बताए।

अन्तराष्ट्रिय पत्रकार महासंघको सहयोगमा भएको तालिम प्रेस युनियनले आयोजना गरेको हो। कार्यक्रममा पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष भरत शाह र प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउदले समेत धारणा राखेका थिए।

तालिममा सुदूरपश्चिमका १७ जना पत्रकार महिला सहभागी छन् भने २ दिन सम्म चल्ने तालिमको पत्रकारद्वय चाँदनी आचार्य र दुर्गा देवकोटा प्रशिक्षक रहेका छन् । प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ