arrow

संसदमा विनोद चौधरीको प्रश्न ‘भ्रमण बर्ष मनाउने तर नयाँ गन्तव्य खोई ?’

बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च ३३ प्रतिशत

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
binod-chaudary.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसाद बिनोद कुमार चौधरीले पर्यटन बर्ष मनाउँनु भन्दा पहिला नयाँ गन्तव्य खोल्न आवश्यक रहेको बताएका छन्। सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउने तयारी गरिहेको बेला सांसद चौधरीले यस्तो बताएका हुन्।

संसदमा बोल्दै चौधरीको प्रश्न थियो- ‘‘मैले आँखा खोलेदेखि अहिलेसम्म काठमाडौं, पोखरा, चीतवन भन्दा अरु देखेको छैन, यसरी कसरी विकास हुन्छ पयर्टकको ?’ नेपाललाई पर्यटकको प्रमुख गन्तव्य बनाउनका लागि पुर्वाधार र नयाँ गन्त्ब्यहरु पहिचान नगरिएको प्रति उनको प्रश्न रहेको थियो।

प्रतिनीधी सभामा बजेट माथिको छलफलमा सांसद चौधरीले मुलुक राजस्वले चालु खर्च पनि धान्न नसक्ने दुष्चक्रमा फस्दै गएको बताएका छन् । उनले सरकारले उठाएको करले पनि चालु खर्च धान्न नसक्ने अवस्था रहेको बताएका छन् ।

उनले भने ‘७ सय ५३ भन्दा बढ्दा विभिन्न तहका सरकार, ती सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको टोटल ट्याक्सले टोटल चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ उनले भने, ‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले अनुभव गरेको छु ।’

निर्यात बढाउनको लागि हरेक वर्ष नयाँ नयाँ योजना आउने गरेको तर पाँच वर्षको तथ्याङकलाई हेर्दा ९१ अर्बबाट घटेर ८० अर्ब आएको सरकारको योजना कहाँ पुग्यो ? भनेर प्रश्न गरे ।

यस्तै हो भने सरकरले आगामी दिनमा सरकारले गम्भिर क्षति व्यहोर्नु पर्ने पनि उनको भनाई छ । आएको राजश्व चालु खर्चमा नै गर्ने हो भने विकास खर्च कसरी गर्ने ? चौधरीले प्रश्न गरेका छन् ।

‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत रुपमै परिवर्तन गर्नुपर्छ’ उनले भने ।

गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च ३३ प्रतिशत देखिएको चौधरीले बताए ।

देशमा आएको ठूलो राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा हुन नसकेको भन्दै उनले विनियोजन गरिएको विकास खर्च गर्ने क्षमता पनि सरकारमा नदेखिएको टिप्पणी गरे ।

सरकारले पूर्वाधार विकास गर्ने हो भने पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्क र विमस्टेक क्षेत्रको गन्तव्य नेपाल बन्न सक्ने चौधरीले बताए । त्यसका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ । ‘शैक्षिक गन्तव्य बन्न सक्ने ठाउँमा सरकारले पूर्वाधार बनाएर अरु मुलुकले दिएको सुविधा भन्दा बढी सुविधा दिनुपर्छ’ उनले भने ।

विश्वकै उत्पादक क्षेत्र (फ्याक्ट्री अफ दि वर्ल्ड) मानिने भारत र चीनको बीचमा उत्पादन बढाउने योजना भन्दा पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड दिन सकिने चौधरीले बताएका छन् ।

सरकारले बजेटमार्फत उत्पादनले धान्न नसक्ने गरि विभिन्न बस्तुमा कर लगाएको बताए । नेपाललाई विश्वमा नै बढी कर भएको देशको रुपमा चिनाउने प्रयास भएको प्रति चौधरीले चिन्ता व्यक्त गरेका छन् ।

अहिले सरकार मोटाएको र त्यसले सरकारलाई नै अगामी दिनमा ठूलो असर पार्ने सांसद चौधरीको भनाई छ । चौधरीले उत्पादनको अंश जिडीपीमा ५.५ प्रतिशत भन्दा बढी नभएको तर्क गरेका छन् ।

तरकारी, फलफूलमात्र नभएर पुजा गर्ने फूल समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उत्पादनशिल उद्योगमा अलि ध्यान दिन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ