विश्वकप क्रिकेटबारे रोचक केही तथ्यहरु

प्रकाशित मिति : २०७६ जेठ २४ शुक्रबार

काठमाडौं । अहिले इंगल्याण्डमा १२ औं संस्करणको विश्वकप क्रिकेट चलिरहेको छ । यो विश्वकप कसले जित्छ भन्ने विषयमा अहिले चर्चा चलिरहेको छ । साथै, विभिन्न किसिमको घटना पनि खेलको क्रममा हुने गरेका छन् । त्यसमध्ये अहिलेसम्मको विश्वकपका धेरैलाई थाहा नभएका ५ तथ्य यहाँ प्रस्तुत गरिएको छ –

१. पहिलो हिट–विकेट

क्रिकेटमा आउट हुने धेरै तरिका छ । त्योमध्ये निकै कम मात्र हुने घटना हिट विकेट हो । कुनै ब्याट्सम्यान सकेसम्म आफ्नै ब्याट वा शरीरले स्टम्पलाई ढाल्न चाहँदैनन् । अझ यति ठूलो प्रतियोगितामा त्यस्तो गल्ती नहोस् भनेर उनीहरु सजग हुन्छन् ।

विश्वकपमा पहिलोपटक यस्तो घटना सन् १९७५ मा भएको थियो । वेस्ट इन्डिजका रोय फ्रेडेरिक्सले फाइनल खेलमा आफ्नो विकेट गुमाउन पुगेका थिए । अष्ट्रेलियाली बलरले गरेको सर्ट बलमा छक्का प्रहार गरेसँगै उनको सन्तुलन बिग्रेको थियो र उनले खुट्टाले स्टम्प ढल्न पुगेको थियो । उनी एकदिवसीय क्रिकेटमा हिट–विकेटको शिकार हुने पहिलो ब्याट्सम्यान हुन् ।

२. क्वाइन टस विवाद

सन् २०११ को विश्वकपको फाइनलमा क्वाइन टसको विषय निकै विवादित बन्न पुग्यो । क्वाइन टसमा भारतीय कप्तान महेन्द्रसिंह धोनी र श्रीलंकाका कुमारा सांगाकारा थिए । उनीहरुको बीचमा सौहार्द वातावरणमा भए पनि क्वाइन टसको विवाद देखिएको थियो ।

म्याच रेफ्रीले क्वाइन टस गरेका थिए तर उनले सांगाकाराले भनेको कुरा सुनेनन् । क्वाइनमा हेड पल्टियो जुन संगाकाराले भनेका थिए । तर, उपस्थित कसैले पनि उनले भनेको सुनेका थिएनन् । त्यसपछि पुनः क्वाइन टस गरियो, फेरि संगाकाराले हेड भने र हेड नै पल्टियो र श्रीलंकाले टस जित्यो । यदि श्रीलंकाले टस हारेको भए यो विवादले उग्ररुप लिने पक्का थियो ।

३. एकमात्र सय माइल प्रतिघण्टाको बल

सन् २००३ को विश्वकपमा पाकिस्तानी बलर शोएब अख्तरले १ सय माइल प्रतिघण्टाको बलिङ गरेका थिए । अहिलेसम्म विश्वकपमा एक सय माईल प्रतिघण्टाको कीर्तिमान कसैले पनि पार गरेका छैनन् ।

४. उदारता महँगो परेको खेल

सन् १९८७ को विश्वकपमा भारत र अष्ट्रेलियाको खेल चलिरहेको थियो । जसमा भारतीय बलर मनिन्दर सिंहले गरेको बलिङलाई अष्ट्रेलियाका डिन जोन्सले प्रहार गरे । त्यो बल बाउन्ड्रीभन्दा बाहिर गयो । तर, अम्पायरले त्यो चौका थियो वा छक्का भन्ने छुट्याउन सकेनन् । नजिकै रहेका फिल्डर रवि शास्त्रीले त्यो चौका रहेको बताए र अम्पायरले त्यसलाई चौका दिए । तर, ब्याट्सम्यानले त्यो छक्का भएको दाबी गरे । यो समस्याको समाधान इनिङ ब्रेक हुँदासम्म पनि भएन । ब्रेकको क्रममा भारतीय कप्तान कपिल देवले अष्ट्रेलियाको दाबीलाई मानिदिने निर्णय गरे । अन्तिममा सो खेल भारतले १ रनले हार्न पुग्यो । जसमा कपिल देवको उदारता भारतको लागि घातक साबित भयो ।

५. सबै फर्म्याटको क्रिकेट जित्ने टोली भारत

कुनै समय एकदिवसीय क्रिकेटमा ६० ओभरको इनिङ हुने गथ्र्यो । ६० ओभरको क्रिकेटको अन्तिम विश्वकप सन् १९८३ मा खेलिएको थियो । यो ६० ओभरको क्रिकेटको अन्तिम विश्वकप थियो । यो विश्वकप भारतले जितेको थियो । भारतले सन् २००७ मा भएको टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जितेको थियो । यससँगै भारत २० ओभर, ५० ओभर र ६० ओभर तीन फम्र्याटको विश्वकप जित्ने एक्लो मुलुक बनेको थियो ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ