arrow

राजकुमार ह्यारी अझै ६ दिन नेपालमै; भूकम्पले भत्केका विद्यालय बनाउन जुट्ने

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Harry-Hiking-lamjung.jpg.jpeg
काठमाडौँ। बेलायती राजकुमार ह्यारी आगामी एक साता भूकम्पपीडितको सहयोगमा जुट्ने भएका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्वि–शतवार्षिकीको अवसरमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका उनले आफ्नो औपचारिक भ्रमण पूरा गरेसँगै आगामी साता भूकम्प प्रभावित क्षेत्रमा सहायताका काममा साथ दिन लागेका हुन्।  
 
“भूकम्पपीडितलाई सहयोग गर्ने बेलायतको परोपकारी संस्था टिम रुबिकन नेपाल परियोजनाका स्वयंसेवकहरुसँग राजकुमार ह्यारीले भूकम्पबाट भत्किएका मध्य नेपालका दुर्गम पहाडी भेकका विद्यालयहरुको पुनःनिर्माणमा सहयोग गर्नुहुनेछ”– केन्स्ङिटन दरबारले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 
राजकुमारको सम्मानमा बुधवार साँझ नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले आयोजना गरेको स्वागत समारोहमा उनले आगामी छ दिन नेपालको निजी भ्रमणमा रहने र भूकम्पबाट प्रभावित विद्यालयहरुको पुनःनिर्माणमा सघाउने घोषणा गरे। 
 
समारोहमा प्रधानन्याधीश कल्याण श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा नेपाल सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो। 
 
राजकुमार ह्यारी पुगे कान्ति बाल अस्पताल
बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड (वर्न वार्ड) जानु भई त्यहाँ उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिए। 
 
नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गरे। ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिए। 
 
गम्भीर अवस्थामा जलेकी लाजिम्पाटकी आठ महिनाकी सौरभ लामाको स्वास्थ्य अवस्था र उनीको हाल भइराखेको उपचारका बारेमा जानकारी लिएपछि राजकुमार ह्यारी गम्भीर बनेका थिए। हात जलेकी लामाको हाल स्वास्थ्यस्थितिमा सुधार हुँदै गएको बालचिकित्सक चौधरीले जानकारी दिए। 
 
चिकित्सक चौधरीले जलेको उपचार गर्ने (वर्न वार्ड) अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताए। राजकुमार ह्यारीले अस्पतालका चिकित्सक, नर्स तथा बालबालिकाका आफन्तलाई आफ्ना भनाइ सुनाएका थिए। 
 
करिब २० मिनेटका लागि सयम दिने भनिए तापनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिएका थिए।
रामेछापबाट शरीरको करिब ३५ प्रतिशत भाग जलि हाल सो अस्पतालमा उपचारत बालिका रोशनी थोलाङलाई राजकुमारले वात्सल्यता देखाउँदै उनका अभिभावकलाई आगोलगायत अन्य पोल्ने वस्तुबाट सजग रहन सुझाव दिएका थिए। राजकुमार ह्यारीले बालबालिकालाई खेलौनासमेत वितरण गरे।रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ