arrow

नेपाली रेललाई कोलकातासम्म पहुँच दिन भारत सहमत

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार

काठमाडौं ।  नेपाली रेललाई कोलकाता-हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति दिएको छ ।यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो ।

बैठकका निर्णयबारे जानकारी दिन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ‘बल्क कार्गो’ ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको जानकारी दिए । त्यसैगरी विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था-इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालन भएपश्चात उक्त रुटमार्फत कार्गो ढुवानी गर्न पाउने गरी सम्झौतामा थप गरिने सहमतिसमेत भएको उनले बताए।

बैठकले नेपाल–भारत रेल सेवा सम्झौता पाँच वर्षका लागि नवीकरण गरेको छ । त्यसैगरी नेपाल र भातीय अधिकारीबीच तेस्रो विस्तृत पुनरावलोकन बैठकमा छलफल भएका विषय समेटी पारवहन-ढुवानी सहज बनाउन नेपालका तर्फबाट मस्यौदा पठाउने र उक्त मस्यौदालाई चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्ने सहमति भएको छ ।

भारतीय रेल्वेबाट अनुमति प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई टुङ्गोमा पुर्‍याउन सरोकारवाला पक्षसँग छलफल गर्न भारतीय पक्ष सहमत भएको अधिकारीले जानकारी दिए । बैठकमा तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा बन्दरगाह नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती बन्दरगाह थप गर्ने सहमति भएको उनले बताए  ।  

बैठकमा नेपालको वीरगञ्ज सुक्खा बन्दरगाहासम्म विद्युतीय रेल्वे लाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । बैठकमा दुवै पक्षबीच रेल सेवा सम्झौताको चौथो बैठक छ महीनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुवै पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गर्ने सहमति भएको छ ।

 तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाली पक्षको नेतृत्व आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पक्षको नेतृत्व भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ