arrow

गुठीबारे राजेन्द्र श्रेष्ठले भने –सरकारले अरिंगाललाई जिस्क्याउनु भनेको आफ्नै काल निम्त्याउनु हो 

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
rajendra-shrestha1.jpg

काठमाडौँ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको बताएका छन् । 

उनले यो कुरा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा संघीय समाजवादी नेवाः संघ र नेवाः राष्ट्रिय परिषदको संयुक्त आयोजनामा भएको ‘गुठी विधेयक र नेवाः सरोकार’ विषयक विचार गोष्ठीमा बताएको हो । 

उक्त कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले जेठ २६ गते राजधानीको माइतीघर मण्डलामा गुथि विधेयकको विरुद्धमा भएको शान्तिपूर्ण जनप्रदर्शनमा भएको प्रहरी हस्तक्षेप तथा अन्धाधुन्ध लाट्ठीचार्ज, पानीको फोहराको प्रयोग राज्य आतंक भएको बताएको छ ।

उनले सरकारले अरिंगाललाई जिस्क्याउनुु आफ्नो काल निम्त्याउनु भएको बताउँदै जनताको आन्दोलन अगाडि दुईतिहाइको सरकार पनि नटिक्ने बताएको छ । 

नेता श्रेष्ठले गुठी प्रथा राष्ट्रिय गौरवको मौलिक परम्परा भएको बताउँदै नेवार समुदायले आफ्नो कीर्ति राख्न देवस्थल, धार्मिक स्थल, पाटी, पौवा आदि बनाएर त्यसलाई चलाउन मास्न नपाउने गरी राखेको गुठीको सम्पत्तिहरू गुठीयारहरूको हातबाट खोसेर राष्ट्रिय गुठी प्राधिकरणलाई दिने गरी प्रस्तावित गुठी सम्बन्धी विधेयकको प्रस्तावना नै असंवैधानिक भएको बताएको छ । 

उनले गुठी संस्थान समेत खारेज हुनुपर्ने माग भइरहेको बेला झन प्राधिकारयुक्त संस्था बनाउनु संयुक्त  राष्ट्रसंघ र आइएलओ १६९ द्वारा प्रदत्त परम्परागत कानुन प्रयोग गर्न पाउने आदिवासीहरूको अधिकारको समेत विरुद्ध भएको बताएको छ ।

नेता श्रेष्ठले विधेयकको दफा २३ मा उल्लेखित गुठीको हक र जायजेथा प्राधिकरणमा सर्ने दफा २४ मा यो विधेयक पारित भएपछि गुठीयारहरूको हक स्वतः समाप्त हुने, दफा २८ मा धार्मिक गुठीको सञ्चालन सरोकारवालाहरूबाट नभई सरकारले गठन गरेको व्यवस्थापन समितिबाट हुने कुरा नेपालको संविधानको धारा २६ (२) मा उल्लेखित ‘प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल र धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक’सँग बाझिएकाले त्यो  संविधानसँग अल्ट्राभाइरस भएको बताएको छ । 

सांसद श्रेष्ठले संविधानको धारा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी मात्र संघीय कानुन बनाउन पाउने भनेकोमा प्राधिकारयुक्त राष्ट्रिय गुठी प्राधिकरण बनाउनु गुठीयारहरूको संवैधानिक हकको हनन गरी गुठीका सम्पतिहरूलाई परोक्ष रूपमा राष्ट्रियकरण गर्नु कम्युनिष्ट पार्टीद्वारा राज्य समाजवाद लाद्ने अभ्यास भएको बताए । 

उनले प्रदेशको गुठी व्यवस्थापनको अधिकारमाथि हस्तक्षेप गर्नु नहुने भन्दै केन्द्रले गुठीको समन्वय र अनुगमन मात्र गर्ने गरी विधेयक ल्याउनुपर्ने बताए ।

श्रेष्ठले सरकारद्धारा प्रस्तावित गुठी विधेयकको दफा ५३ र ५६ मा उल्लेखित भोगाधिकार तथा मोहियानी हकको कुरा गुठी जग्गा भूमाफियाहरूको हातमा पुर्याउने सरकारको षडयन्त्र भएको बताए । 

उनले गुठी सम्बन्धी विधेयक भूमि व्यवस्था मन्त्रालयले नभई पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष जस्तै संस्कृति मन्त्रालयबाट आउनुपर्नेमा समेत जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ