arrow

गाउँपालिका उपाध्यक्ष र सदस्यको कुटाइबाट गर्भवतीसहित ६ जना घाइते बनाएको बाटो रोक्न आदेश

इमिलिया बाटो प्रकरणमा उच्च अदालतद्वारा कारण देखाउ आदेश 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७६ जेठ २९ बुधबार
bato1.jpg

झिलमिला । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडी ५ इमिलियाका स्थानीयको जग्गामा गाउँपालिकाद्वारा जबर्जस्ती खन्दै गरेको बाटोको काम रोक्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालत महेन्द्रनगरका न्यायाधीश टंक प्रदाद गुरुङको इजलासले बेल्डाँडी गाउँपालिका र कार्यपालिकालाई अन्तरिम आदेश जारी गर्दै अदालत हाजिर हुन आदेश दिएको हो । 

बेल्डाँडी गाउँपालिका ५ इमिलियादेखि झिलमिला जाने २ वटा साविकका सडक हुँदाहुँदै धान रोप्न तयार गरिदै गरेको जग्गामा गाउँपालिकाले जबर्जस्ती बाटो खन्न डोजर चलाएपछि विरोध गरेका कृषकहरुले उच्च अदालत महेन्द्रनगरमा गाउँ कार्यपालिका र गाउँपालिकालाई बिपक्षी बनाउँदै रिट दायर गरेका थिए । उच्च अदालतले गाउँ कार्यपालिका र गाउँपालिकालाई असार ५ गते हाजिर हुन कारण देखाउ आदेश जारी गरेको छ । 

इमिलिया गाउँदेखि झिलमिला जाने साविकका दुई वटा बाटो हुँदाहुँदै स्थानीय रानाथारुहरुको जग्गा नक्सामै बाटो नभई आवादी जग्गामा बाटो खन्न गाउँपालिका उपाध्यक्ष कमला कार्की, वडाध्यक्ष कृष्णबहादुर रोकाया लगायतका ब्यक्तिहरुको निर्देशनमा डोजर चलाउँदै बिरोधमा उत्रिएका स्थानीयमाथि कुटपिट गरिएको थियो । 

कुटपिटबाट दुई गर्भवती महिलासहित  ६ जना घाइते भएका थिए । बेल्डाँडी गाउँ पालिकाले इमिलियाको उक्त स्थानमा बाटो खन्दा नक्सा र अमिन बिनै खन्न थालिएपछि जबर्जस्ती गरिएको पुष्टि भएको स्थानीयहरुले बताउँदै आएका छन् । 

आवादी जग्गामा बाटो खनिँदै गर्दा बिरोधमा उत्रिएका स्थानीयमाथि कुटपिट गरिएपछि बेल्डाडी गाउँपालिका ५ ईमिलियाका ४५ वर्षिया गर्भवती भागेश्वरी गिरी, ४० वर्षीया गर्भवती जागृती गिरीसंगै ४० वर्षिय हेमराज राना, २८ वर्षिय रामरती गिरी, ६० वर्षिया सीता गिरी, ३५  वर्षिय कनैया राना, ४० वर्षिया रति राना र ३४ वर्षिया द्रोपा राना घाइते भएका थिए । 

नियोजित रुपमा हाम्रो जमिनबाट बलजफ्ती बाटो खन्न थाले पछि आफुहरु बिरोधमा उत्रनुपरेको घाइते सीता गिरीले बताइन् । उनले भनिन्, ‘प्रहरीकै अगाडी हामीलाई निर्घात कुटियो प्रहरी उल्टै उनीहरुकै समर्थनमा लाग्यो ।’

वडा अध्यक्ष रोकायाले जसरी पनि हामी बाटो खनेरै छोड्छौ भन्दै डोजर चलाउन र बिरोध गर्नेलाई कुट्न आदेश दिए पछि कुटपिट गरिएको घाइते हेमराज रानाले बताए ।

इमिलियामा किसानको जग्गा मास्दै बाटो खोल्न खोज्नु जनप्रतिनिधिको सोझा जनतामाथि दमन भएको स्थानीय पिडित शिबु गिरीले बताए । उनले भने ‘वर्षौंदेखि आवादी भएको जग्गामा नापी नक्सा बिनै जबर्जस्ती बाटो खन्नु अन्यायपूर्ण हो ।’
 
गाउँपालिकाले जबर्जस्ती डोजर चलाएपछि रतिरानाको ५ कठठा ,शिबु गिरी, बलराम गिरी, करण गिरीको संगोलको जमिन १० कठ्ठा, हेमराज रानाको ५ कठ्ठा, जगदिश रानाको २ कठ्ठा र राम सैवा रानाको २ कठ्ठा जमिन मासिएको छ । गाउँपालिकाले उक्त जग्गामा १० मिटरको बाटो खनेको छ । 

सो बाटो प्रकरणबारे गाउँपालिका अध्यक्ष धनबहादुर थापाले भने, ‘आफू काम बिशेषले काठमाडौं आएको बेला बिवाद भएछ । सहमति नजुटाई बाटो खन्नु गलत काम गरियो ।’ उनले भने, ‘गाउँपालिकाले काम गर्ने जनतकै लागि हो त्यहाँ बाटो बनाउँदा के कसो गर्नु पर्छ छलफल गरेर सहमति निकालिने छ । मुवाब्जा दिएर हुनेहो वा त्यो बाटो स्थगित गर्ने हामी सहमति निकाल्ने प्रयत्नमै छौं ।’


 
सो बाटोबारे गाउँपालिका उपाध्यक्ष कमला कार्कीले भनिन्, ‘ईमिलियादेखि झिलमिला जान करिब १ सय मिटर नयाँ बाटो खोल्न २०० जनाले माग गरेपछि उक्त स्थानमा बाटो गाउँपालिकाको बजेटमा खन्न लागेको हो ।’ उनले भनिन्, ‘गर्भवती महिला भएको त थाहा भएन तर खन्न नदिनेहरुसंग बादबिवाद त भएको हो तर घाइते हुने गरि कुटिएको होइन ।’
 
उक्त स्थानमा दुईवटा कच्ची बाटा पहिले देखिनै हुँदाहुँदै तिनको स्तरोन्नति नगरी नयाँ बाटो खन्न गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्षले बल प्रयोग गर्नु निर्धामाथि दमन गरिएको स्थानियले बताउँदै आएका छन् । हचुवाका भरमा आफ्ना समर्थकले जे जस्तो निबेदन  दियो त्यही काम गर्दै जानु गाउँपालिकाका जनप्रतिनिधिको हेपाहा प्रवृत्ति भएको पीडितहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ