arrow

नेवार समुदायको चेतावनीः सरकारले अरिंगालको गोलामा ढुंगा हान्यो, अब हेरोस् के हुन्छ  

गुठी विधेयक विरुद्ध श्रृंखलावद्ध आन्दोलनको घोषणा

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
manche.JPG

ललितपुर । गुठी विधेयक विरोधि आन्दोलनले काठमाडौं उपत्यका मात्रै नभएर देशव्यापी रुप लिन थालेको छ । विधेयकविरुद्ध काठमाडौं उपत्यका शुरु भएको आन्दोनल चर्किँदै जाँदा, जनकपुरका सन्तमहन्थहरु समेत आन्दोलनमा होमिन थालेका छन् । काठमाडौं उपत्यकामा आन्दोलनको श्रृंखला जोडिन थालेको छ । 

गुठी विधेयकको विरुद्धमा उपत्यकाका बिभिन्न स्थानबाट उर्लेको मानव सागरमा सहभागिहरुले, अब आन्दोलन देशब्यापी रुपमा अघि बढ्ने चेतावनी दिए । 

ललितपुरको दरबार क्षेत्रमा बिहीबार साँझपख आयोजित विशाल सभालाई सम्बोधन गर्दै ज्यापु समाजका अध्यक्ष चन्द्रमान महर्जनले तत्काल विधेयकफिर्ता नगरे त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने चेतावनी दिए । 

अध्यक्ष महर्जनले भने, ‘नेवार समुदाय अरिंगालको गोला हो, सरकारले ढुंगा हान्यो, अब हेरोस् के हुन्छ’ ।
 

आन्दोलनमा सहभागी नेवार समुदायका विभिन्न जातजातिले ऐक्यबद्धता जनाउँदै नेवार समाज गठन गरी आन्दोलन थप शसक्त रुपमा अघि बढाउने उद्घोष गरे । 

नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले गुठीको सम्पत्ति हडप्ने प्रयास स्वरुप विधेयक ल्याइएको आरोप लगाए । सरकारले अहिले सार्बजनिक सरोकारको बिषयमा छलफल नै नगरी विधेयकल्याएकोमा उनीहरुले जनाएका छन् । 

आफुहरुको आन्दोलन मत्थर पार्न सरकारले नेवार समुदायका अगुवा संर्घष समितिका केही सदस्यलाई गुलियो देखाए पनि त्यो गुलियोमा झिंगा बनेर नफस्ने उनीहरुले अडान छ । 

नेवार समुदायको मात्र नभई देशभरीको संस्कृति मास्ने र  गुठीयारको हक खोस्ने प्रयास भएको दबुका अध्यक्ष ताम्राकारले दाबी गरे । 

देश चलाउन पठाएकाहरुले नै सिधै आफुहरुमाथि हमला गरेको रत्नाकर महाबिहारका करुण बज्राचार्यले बताए । ‘गुठी संस्कृति १५ सयदेखि २ हजार बर्ष पुरानो हो’, अक्रोशित हुँदै उनले भने, के यो गुठी  तिम्रा बाउबाजेले बनाएको हो ? होइन भने मनपरी नियम बनाउन पाइन्छ?’ 

गुठी, संस्कृति सम्पदा र भावनासंग जोडिएकोले अब विधेयकखारेज नभसम्म आन्दोलन नरोकिने नेपाल उद्योग बाणिज्य महासंध ललितपुरका पुर्व अध्यक्ष अजरमान जोशीले बताए। सरोकारवालासँग छलफल नै नगरी पछाडीको ढोकाबाट प्राधिकरण गठन गर्ने नियतले राखएको र त्यो स्वीकार्न नहुुने उनको भनाइ छ । 

कोणसमालाई सम्बोधन गर्दै आदिवासी वकिलहरुको संस्थाका महासचिव शंकर लिम्बुले प्रधानमन्त्रीलाई कुर्सीमा हैन, शंख र घण्टी बजाएर मैदानमा आउन चुनौती दिए । 

ऐतिहासिक सम्पदालाई कानुनी रुपमा डकैती गरेर लैजान खोजेको भन्दै लिम्बुले प्रधानमन्त्रीलाई भने, ‘गुठी लाने हो भने खरानी घसेर आऊ, हामी दान दिन तयार छौं’ । 

सभामा सहभागीहरुले निजी गुठीलाई व्यापार गर्न खोजेको आरोप लगाए । विधेयकको दफा ६३ ले सबै निजी गुठी प्राधिकरणमा लैजाने र प्राधिकरणमा राजनीतिक मान्छे हुलेर लुट्ने व्यवस्था गर्न लागिएको उनीहरुको दाबी छ । खाली खुट्टा र चप्पलमा काठमाडौं छिरेकाहरुले नेवारहरको गुठी जग्गा हडप्ने प्रपञ्च गरेको आरोप पनि उनीहरुले लगाए । 
ललितपुर, काठमाडौं र भक्तपुर लगायतका विभिन्न ठाउँबाट ललितपुरको पाटन दरबार क्षेत्रमामा भेला भएकाहरुले, गुठी विधेयकबिरुद्ध श्रृंखलाबद्ध आन्दोलनको उद्घोष समेत गरेका छन् । 

यो आन्दोलन अब गुठी विधेयक फिर्ता नभएसम्म जारी रहने संघर्ष  समितिले जनाएको छ । प्रत्येक टोलटोलमा जम्मा भएर अब शसक्त आन्दोलन सुरु गर्ने उनीहरुले बताए । 

उनीहरुले काठमाडौंका टोखा, बुढानिलकण्ड लगायतका ठाउँमा दिनहुँ प्रदर्शन गर्ने तालिका पनि सार्वजनिक गरेका छन् । काठमाडौबाट शुरु आन्दोलन ललितपुर हुँदै शुक्रबारदेखि देशब्यापी रुपमा अघि बढ्ने आमसभामा सहभागिले बताए । शुक्रबार बेलुका पनि ललितपुरकै दरबार क्षेत्रमा जम्मा भएर विशाल मसाल जुलुस निकाल्ने उनीहरुले बताएका छन् । 

सभामा सहभागिहरुले नेवार समुदायको नसा नसामा गुठी संस्कृति भएको हेक्का नराखी विधेयक ल्याउने भूमिसुधारमन्त्रीको राजिनामा समेत मागेका छन् ।

सडक विस्तारका बिरुद्धमा उठेका नेवार समुदायको टाउको ताकेर हिर्काएको भन्दै उनीहरुले गृहमन्त्री रामबहादुर थापा बिरुद्ध समेत नाराबाजी गरेका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ