arrow

संसदमा काँग्रेसको चेतावनी : गुठी विधेयक क्यान्सरको रुपमा विकास हुनसक्छ 

logo
प्रकाशित २०७६ असार १ आइतबार
laxmi-pariyar.jpg

काठमाडौं । नेपाली काँग्रेसले गुठी विधेयकको विषयमा आईतबारको प्रतिनिधि सभामा पनि विरोध गरेको छ । आईतबार बैठक सुरु भएसँगै प्रतिपक्षी दलहरु काँग्रेस र राजपाले उठेर विरोध गरेका थिए । त्यसलगत्तै नेपाली काग्रेसको तर्फबाट नेतृ लक्ष्मी परियारले नेकपाले नेपालको संस्कृतिमाथि बुट प्रहार गरेको आरोप लगाएकी छिन् । 

उनले सम्पदा संरक्षणको क्रममा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका गुठियारहरुमाथि प्रहरीले बुट प्रहार गरेको विषयमा पटक पटक सरकारसँग यसको जवाफ माग गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । गुठीलाई जग्गाको रुपमा परिभाषित गरेको भन्दै नेतृ परियारले गुठी एउटा जग्गा मात्रै नभएर सिंगो सभ्यता, नेपालको पहिचान र नेपालको अस्तित्व समेत रहेको बताईन् । 

नेपाली संस्कृतिलाई सिध्याउने हो भने नेपाल नै नरहन पनि सक्ने भन्दै सरकारले संस्कृति सिध्याउन गरेको प्रयासलाई नेपाली काँग्रेसले कुनैपनि हालतमा सफल हुन नदिने चेतावनी परियारले दिएकी छिन् । लिच्छवीकालदेखि सुरु भएको गुठी सम्बन्धी परम्परालाई किसान र सुकुम्बासी समस्या समाधान गर्ने नाममा सिध्याउने खेल वास्तविक सुकुम्बासी समस्या समाधानको लागि भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई पोस्ने मेसो रहेको आरोप परियारको थियो । 

सदनमा उठेका विषयमा सरकारले बेवास्ता गर्ने गरेको प्रति पनि उनले चिन्ता व्यक्त गरेकी छिन् । गुठी सम्बन्धी विधेयकबारे धेरै प्रश्नहरुको सरकारले आलटाल गर्दै आएको उनले बताईन् । गुठी विधेयकलाई सरकारले बेलैमा नसच्याउने हो भने यो क्यान्सरको रुपमा फैलिँदै जाने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ