arrow

अस्मिता खड्का विष्टका हत्यारालाई डेढ सय वर्ष जेल सजाय

logo
प्रकाशित २०७६ असार ११ बुधबार
killer1.JPG

काठमाडौँ । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको शृंखलाबद्ध रूपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । 

मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन् ।

अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीया अस्मिता खड्का विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन् । खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो । काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन । उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन् ।

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरेका थिए । गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परेका हुन् । उनकै बयानका आधारमा अरू शव भेटिएका थिए । अस्मिताको शव गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको थियो ।

‘अस्मिताको कोठामा भएका सरसामानसँग डीएनए परीक्षण गर्दा मिलेपछि पहिचान भएको हो,’ साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘शव अस्पतालमै छ ।’सिंगो साइप्रसलाई तरंगित पार्ने यो घटनाक्रममा नेपाली महिलासमेत रहेको प्रमाणित भएपछि साइप्रसमा कार्यरत नेपाली हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिलाई यति धेरै सजाय सुनाइएको यो पहिलो पटक हो । यो घटना सार्वजनिक भएपछि साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए । न्यायमन्त्रीले राजीनामा दिएका थिए ।

युरोपियन युनियनको सदस्य साइप्रसमा झन्डै ६ हजार नेपाली कार्यरत छन् । जसमध्ये ८० प्रतिशत महिला घरेलु कामदार छन् । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ