arrow

१६ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे

logo
प्रकाशित २०७६ असार ११ बुधबार
hulaki.gif

सप्तरी । हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करीब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म करीब १६ किलोमिटर सडकमा कालोपत्रे सकिएको छ ।

यही असार २१ गतेभित्र उद्घाटन गर्ने तयारी भएको उक्त सडकका कन्ट्रयाक्टर म्यानेजर विनोद गौतमले जानकारी दिनुभयो । ठेकेदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सक्ने गरी तयारी गरिए पनि सडक निर्माणका क्रममा विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न केही ढिलाइ भएको गौतमले बताए ।

पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा क्षेत्र स्वर्णपट्टिसम्म करीब १७ दशमलव २८ किलोमिटरको सो  सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्र बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ ।

 विसं २०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको करीब ९५ प्रतिशत भागमा कालोपत्रे सकिएको छ, गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भड निर्माण भइसक्यो अहिले एक हजार ४०० मिटर दाँयाबाँया पैदलमार्गसँगै नाला निर्माणको समेत अन्तिम चरणमा पुगेको छ ।” त्यसका साथै सडकमा सङ्केत चिह्न राख्ने कामसमेत भइरहेकाले ती सबै काम सकेर असार २१ गते विधिवत् उद्घाटन गरी हस्तान्तरण गरिने बताइएको छ ।

सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराजमा तीन वटा मुद्दा दायर गरिएको थियो । ती तीनवटै मुद्दामा अदालतबाट फैसला आइसकेकाले कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे गर्ने कार्यसँगै नाला निर्माण तीव्ररुपमा भइरहेको उनले बताए ।

मूल्य अभिवृद्धि कर(भ्याट) बाहेक रु ५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणाधीन सडकको काम यही असार २० गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ