arrow

श्रममन्त्री फर्किएको एक महिनामै उद्यमीद्वारा चिया उद्योग बन्द गर्ने घोषणा

logo
प्रकाशित २०७६ असार ११ बुधबार
gokarna-bistas.jpg

इलाम । श्रममन्त्री गोकर्ण विष्ट इलामबाट फर्किएको एक महिना बितेसँगै इलामका चिया उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।  स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका हुन् ।

श्रमिकहरुले नयाँ श्रम ऐनअनुसार आफूले ज्याला पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए भने न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले नयाँ श्रमजीवी ऐनअनुसार चिया श्रमिकलाई तलब भत्ता दिँदा उद्योग नै डुब्ने भन्दै उद्यमीले बिहीबारदेखि उद्योग बन्द गर्ने बताएका हुन् । सूर्योदय टी एशोशिएसनमा आबद्ध ६२ भन्दाबढी उद्योगले सरकारी पक्षबाट पनि चिया क्षेत्रीय सहयोग नपाएको र आफै मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला ३८५ रुपैयाँ तोकेको छ र उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ ज्याला तोकिएको छ तर नयाँ श्रम ऐनअनुसार आफूले ज्याला नपाएपछि श्रमिक गुनासो गर्दै नियमअनुसार ज्याला पाउनुपर्ने माग गर्दै आन्दोलनमा निस्किएका थिए ।

उद्यमीहरूले सामूहिक विज्ञप्ति निकाल्दै भारतीय बजारमा बिक्री हुने चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको मापदण्डको पत्ती उद्योगमा नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले आफूहरू समस्यामा परेको उल्लेख गरेका छन् । चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरिएको कार्यविधिमा किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने उल्लेख छ ।

कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । “किसानले चिया उत्पादन गर्दा लागेको खर्चको १५–२० प्रतिशतसम्म सरकारले बेहोर्ने देश हाम्रै छिमेकमा छन् तर हाम्रो सरकारले चाहिँ त्यो वातावरण कहिले बनाउने ?”, हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोशिएसनका पूर्वअध्यक्षसमेत रहेका उदय चापागाईंले भने, “सरकारले चिया उत्पादक किसान र आफैँ उद्योग सञ्चालन गरेका साना किसानलाई उत्पादन र बजारीकरणमा सहुलियन नदिएसम्म चिया क्षेत्र माथि उठ्न सक्दैन ।”

उनले यही स्थितिमा श्रमिकलाई नगरले तोकेको न्यूनतम ज्याला दिन नसकिने बताए । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको विवरणमा उल्लेख छ । सरकारी तथ्याङ्कअनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९ र धनकुटामा छ ठूला उद्योग छन् । देशभर १०८ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी बिकास बोर्डको तथ्याङ्क छ ।

जेठ ३ गते इलाम पुगेका श्रममन्त्री गोकर्ण विष्टले नै सरकारले तोकेबमोजिमको ज्याला श्रमिकलाई दिन उद्योगलाई निर्देशन दिएपछि पूर्णरूपमा श्रमिक काममा फर्किएका थिए ।

श्रममन्त्री विष्टले कानूनअनुसार ज्याला श्रमिकले पाउनुपर्ने र सरकार यसमा प्रतिबद्ध रहेको बताएका थिए । उनले  “तपाईं (श्रमिक)हरूको गुनासो मैले बुझेको छु, तपाईंहरू ठुक्क हुनुहोस्, समस्या समाधान हुन्छ ।  हजारौँलाई रोजगार दिने, राष्ट्रलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने र हरियाली बनाउने चियाको समस्या समाधान गर्न हामी पनि लागि पर्छौं ।” भनेका थिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ