arrow

केपी ओली लोकतन्त्रमा राजतन्त्रको नयाँ अवतार 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
kp-oli-tanashaha.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पाँच वर्षका लागि ढुक्कसंग कुर्सीमा बसिरहेका छन् । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भएको सहमति पालना नगर्ने हो भने पाँच वर्ष उनकै सत्ता चल्ने देखिन्छ । 

लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आएपनि उनले आफूलाई लोकतान्त्रिक नभइ तानाशाही शैलीमा ढाल्दै लगेको उनले गरेका हर्कतहरुबाटै देखिन थालेको छ।

उनले गत वर्ष आफू नेतृत्वको सरकारको मिडियामा चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुलाई बोलाएर आफ्ना भनाइ राखे । 

सम्पादकहरुले सोचेका थिए प्रधानमन्त्रीसंग दोहोरो कुराकानी गर्न पाइने भयो । तर ओलीले त्यसो गरेनन् । उनले राजाको झैं व्यवहार देेेखाए । त्यतिबेला उनी अग्लो स्थानमा अग्लो कुर्सीमा बसेर सम्पादकहरुलाई आफ्नो कुरामात्र सुनाए। सम्पादकहरु छक्क परे ।

उनी आफूलाई विशिष्ट देखाउने प्रयास गर्दै थिए । एउटा किसानको छोरो कसरी प्रधानमन्त्री भयो भन्ने भुलेर उनले आफूलाई राजाको शैलीमा उतार्ने प्रयास गर्दैै थिए । 

उनको कामको आलोचना भएपछि ढाकछोप गर्न बोलाएको त्यो भेलापछि उनको झन् ठूलो आलोचना भयो । यद्यपि धेरै सम्पादकहरुले कलम दह्रो पार्न नसके पनि अनलाइन खवरका सम्पादक अरुण बरालले खुलेरै विरोध गरेर लेखे ।  

त्यसपछि पटक पटक ओलीले आफ्नो हैसियत देखाउँदै आएका छन् । उनले केही समय अगाडि पार्टीको एउटै हैसियतमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा दुई घण्टासम्म कुराएर राखेका थिए । 

त्यस्तै उनले संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको प्रश्नको जवाफ दिन नखोज्ने प्रवृत्ति देखाएर अभद्र शब्दको प्रयोग गरेर संसदको रेकर्डबाट समेत उनका सम्वोधन हटाउनु परेको थियो । उनले त्यतिबेला ‘निम्छरो’ भन्ने शब्दसमेत प्रयोग गरेका थिए । 

तर ओली रोकिएका छैनन् । उनी लोकतन्त्रमा राजा बन्न खोजिरहेका छन् । उनको यो राजा बन्ने सपना नेकपाभित्रैबाट छिट्टै हटाइँदै गरेको प्रसङ्गसमेत चल्न थालेको छ । 

उनले आफ्नो दलका अन्य नेताहरुलाई समेत अभद्र व्यवहार गर्ने गर्छन् । त्यसकै रुप हो उनको पार्टी पूर्ण रुपले एकता हुन नसक्नु । 

उनले प्रचण्डसंग गरेको सहमति त तोडिरहेकै छन् नै सरकार संचालनका बेलामा अनुभवीहरुसंग सल्लाहसमेत लिन रुची राख्दैनन् । केन्द्रीय समिति बैठक बस्न सकेको छैन भने स्थायी कमिटि बैठक पुसपछि बसेकै छैन । 

ओलीले आफ्नो गलत रुप अझै पनि देखाइरहेका छन् । त्यो शिलशिला फेरि शनिबार (असार १४) पनि देखियो । अरु भन्दा अग्लो र विशिष्ट देखाउन उनी लागिरहेका छन् । 

वन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा पनि कोटेश्वरमा उनले त्यही हर्कत देखाए । उनी अगाडि थिए । 

ओलीको पछाडि लस्करै मन्त्री र उच्च कर्मचारीहरूलाई राखिएको थियो। ओलीको कुर्सी पछाडि ओलीकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा बादल, कानूनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लगायतका रहेका थिए । 

ओली मन्त्रीहरूसँग कुर्सीको एउटै लहरमा बस्न नहुने गरी राजालाई जस्तो गरेर राखिएकोमा आलोचना हुनु स्वभाविकै हो । एउटै मञ्चमा बसेर पनि ओलीलाई मात्रै अगाडि बस्ने व्यवस्था गरेर के सन्देश दिन खोजिएको हो भनेर प्रश्न उठेका छन् ।

लोकतन्त्रमा जनताको प्रतिनिधिले यो खालको व्यवहार देखाउन थालेपछि उनकै पार्टी नेकपाभित्रै आलोचना भइरहेको छ । तर यसलाई उनी मान्दैनन् । अहिलेसम्म बस्दै आएका सचिवालय बैठकमा समेत उनले आफूले जे भनिरहेका छन् त्यो लागु गराउन सकेनन् भने बैठक नै स्थगित गरिदिन्छन् ।  

ओलीले पटक पटक सार्वजनिक स्थलमा देखाउने हर्कतलाई लोकतन्त्रकै मजाकको रुपमा लिन थालिएको छ।

लोकतन्त्रमा राजतन्त्रको अवशेषको रुपमा ओलीको यो हर्कतलाई लिन थालिएको छ । के उनमा आफू नै सर्वश्रेष्ठ हुँ भन्ने हुटहुटी जागेको हो त ? या रहर हो तानाशाह बन्ने । कतै श्रीपेच नै पो लगाउने अभ्यास गरिरहेका हुन् कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ