arrow

'आलोपालोको सहमति गर्ने अनि पालना नगर्ने ? भन्ने कुरा हुँदैन्'

logo
प्रकाशित २०७६ असार १५ आइतबार
Bhim-rawal.gif.gif

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टी एकताको बेला पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सबै सहमति पालना हुनुपर्नेमा जोड दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले अध्यक्षद्वयले सहमति पालना गर्नुपर्ने बताए ।

 उनले भने,‘यदि सरकारको नेतृत्व आलोपालो गर्नेबारे पनि उहाँहरुबीच सहमति भएको हो भने त्यहीअनुसार अगाडि बढ्नुपर्छ । सहमति गर्ने अनि पालना नगर्ने ? भन्ने कुरा हुँदैन् ।’ उनले सहमतिको बेलाका हस्ताक्षरकर्ता र साक्षीहरुलाई यस विषयमा राम्रोसँग थाहा होला भन्दै प्रष्ट पार्नुपर्ने धारणा राखे ।


रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका छन् ।  उनले भने,‘यही कुरा शीर्ष नेताहरुबीच सहमति भएको हो । कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’

उनले भने,‘हाम्रो पार्टीको विधानमै स्पष्ट रुपमा पार्टी नीतिबारे लेखिएको छ । हाम्रो पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो । र घोषित नीति भनेको जनताको जनवाद हो । सबै नेता विधानअनुसार चल्नुपर्छ ।’ सहमतिको विपरितको गईयो भने राजनीतिक अस्थिरता निम्तिने खतरा रहेको पनि रावलको टिप्पणी छ ।

उनले पार्टी एकताको सन्दर्भमा गरिएका सबैखाले प्रतिबद्धताहरु पूरा गर्नुपर्ने धारणा राखे । नेकपाको आन्तरिक विधानमा अभिलिखित नीतिलाई सबैले पालना गर्नुपर्ने उनको जोड छ । उनले थपे,‘पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ । यसबाट कोही पनि विचलित हुनुहुँदैन् ।’ कसैलाई पार्टीको नीति मन नपरे केन्द्रिय कमिटिमा राख्नुपर्ने पनि उनले सुझाए ।

नेता रावलले भने,‘यदि पार्टीको नीतिबारे चित्त बुझेको छैन भने पार्टीको केन्द्रिय कमिटीमा विचार राखिनुपर्छ ।’ यद्धपी केन्द्रिय कमिटीको बैठक नबसेको धेरै लामो समय भएकोमा उनले गुनासो पोखे । त्यस्तै, स्थायी कमिटीको बैठकपनि पुसदेखि यता बस्न नसकेको उनले टिप्पणी गरे । पार्टीको बैठक नबसेको कारण आफ्ना कुरा राख्न नपाएको पनि उनले गुनासो पोखे । उनले भने,‘मैले जे कुरा बोलेको छु, सबै पार्टीको घोषित नीतिअनुसारनै बोलेको छु ।’

रावलले जनताले नेकपालाई ठूलो जिम्मेवारी दिएर सरकारमा पठाएको सुनाए । उनले भने,‘जनताले हामीलाई ठूलो जिम्मेवारी दिएर पठाएका छन् । संविधान, नेकपाको विधान, जनताको आकांक्षालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ ।’ सरकारले कतिपय राम्रा कामहरु गरेको उनको दाबी छ ।

तर, सरकारको कामको समिक्षा पार्टीले गर्नुपर्नेमा उक्त काम अहिलेसम्म नभएकोमा रावलले आक्रोश पोखे । उनले भने,‘यो सरकार देश र जनताप्रति जिम्मेवार बन्नुपर्छ । सरकारले आफ्ना कमजोरीहरुलाई आत्मसात गर्नुपर्छ । सरकारले देशको हितमा काम गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ