arrow

अमेरिका जादा नदीमा डुबेर मृत्यु भएका बाबुछोरीको दाहसंस्कार गरियो

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
osacer.jpg

मेक्सिको सिटी । मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ महिने छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो ।

उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् ।

साल्भाडोरका सञ्चार माध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुबैको दाहसंस्कार गरिएको हो । परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन । सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।

ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले दुबैको शव रियो ग्रान्डे नदीको मेक्सिकोतर्फको किनारामा जुन २४ मा फेला पारेका थिए । छोरी भ्यालेरीको शव भने बाबुको शर्टमा बाँधिएको अवस्थामा भेटिएको थियो ।

ओस्कार र भ्यालेरीको शव आइतबार मेक्सिकोबाट सान साल्भाडोर ल्याइएको थियो । मार्टिनेज र उनकी पत्नी सान–साल्भाडोरको एक रेष्टुराँमा काम गर्दथे । तर उनीहरु संयुक्तराज्य अमेरिकामा राम्रो अवसरको खोजीमा गत अप्रिलमा मेक्सिको हुँदै अमेरिकातर्फ प्रस्थान गरेका थिए र रियो ग्रान्डे नदी पार गरेर अमेरिका प्रवेश गर्न चाहन्थे ।

यस्तै दुःखद घटना यसअघि पनि भएका छन् । गत जुन २५ मा पनि रियो ग्रान्डे नदीमै एक व्यक्तिको शव फेला परेको थियो । यस वर्ष थुप्रै व्यक्ति नदीमा डुबीसकेका छन् ।

अमेरिकी सीमा प्रशासनले सन् २०१८ मा २८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । तर अधिकारकर्मीहरुले मृत्यु हुनेको वास्तविक संख्या अझ बढी रहेको दाबी गरेका छन् ।

अमेरिका–मेक्सिकाबीच करिब तीन हजार किलोमिटर सीमा रहेको छ । मध्य अमेरिकी मुलुकहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसबाट हरेक वर्ष ठूलो संख्यामा अबैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम वर्षौंदेखि जारी छ ।

अमेरिकी ट्रम्प प्रशासनले अवैध आप्रवासी नियन्त्रणका लागि प्रवेशमा कठोर कदम चाल्ने बताउँदै आएको छ ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ