arrow

चीनको उइगर मुस्लिमहरुको अहिलेसम्मकै सबैभन्दा ठूलो गिरफ्तारी

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
xinjiang-china.jpg

काठमाडौं। पछिल्लो केही वर्षयता चीनको ग्रामीण उत्तरी प्रान्त सिन्चियाङमा गिरफ्तारी क्याम्पको संख्या बढ्दो क्रममा छ। अमेरिकाको विदेश मन्त्रालय, यूएन र अन्य अनुसन्धानले देखाएअनुसार उक्त क्याम्पमा कम्तिमा १० लाख उइगर मुस्लिमलाई राखिएको बेलायती पत्रिका न्यू स्टेट्स्मनले जनाएको छ।

चिनियाँस्लिम अल्पसंख्यकमाथि चीनले निरन्तर उनीहरुको पहिचान र स्वतन्त्रता खोसिरहेको छ। यो होलोकाउस्ट यताकै सबैभन्दा ठूलो गिरफ्तारी हो। यो न त कुनै सञ्चारमाध्यमको समाचार बन्छ न त कुनै प्रमुख कूटनीतिक वा राजनीतिक मुद्दा नै। 

यस किसिमको व्यवहारले चीनको शासन प्रणाली कति कठोर छ भन्ने कुरालाई देखाएको छ। चीन आफ्नो अर्थतन्त्रको प्रयोग गर्दै अन्तर्राष्ट्रिय आलोचनालाई साम्य पार्ने दिशामा अघि बढिरहेको छ। तर, उसले सिन्चियाङमा विदेशीको प्रवेशमा भने निकै कडाइ गरेको उक्त पत्रिकामा उल्लेख छ। 

विदेशी मुलुकमा बेलायतले उइगरको विषयमा आवाज उठाउने गरेको छ। यस विषयमा चीनमा केही मात्रामा परिवर्तन त आइरहेको छ भने आवश्यक मात्रामा भने परिवर्तन आउन सकेको छैन। चीनको उक्त क्षेत्रमा अत्यधिक मात्रामा क्यामेराको निगरानी रहने गरेको छ। 

यो क्षेत्रमा कुनै विदेशी वा मुस्लिम गतिविधि गरेको पाइएमा उनीहरुलाई तत्काल जेल हालिन्छ। उइगर अभियानकर्ताका साथी तथा आफन्त र विदेशी पत्रकार पनि बेलाबेलामा चीनमा पक्राउ पर्ने गरेका छन्। इजिप्ट, मलेसिया र पाकिस्तानजस्ता मुलुकले आफ्ना विद्यार्थीलाई चीन पढ्न पठाउने गरेका छन्। जसमध्ये केही त्यतै हराएका छन्। 

यस महिनाको शुरुमा यूएनको मानव अधिकार परिषद्मा बेलायत र टर्कीले मात्र चिनियाँ उइगरको मानव अधिकार उलंघनको विषयमा आवाज उठाएका थिए। तर, त्यसपछि खासै कसैले पनि यसलाई महत्व दिएनन्।

यस विषयमा अमेरिका र एम्नेस्टी इन्टरनेशनलने पनि आवाज उठाएका छन्। एम्नेस्टीले युरोपेली मुलुकलाई चिनियाँ मानवअधिकारको विषयमा आवाज उठाउन आग्रह गरेको छ। अमेरिकाले पनि मानव अधिकारको विषयमा चीनको कदमको कडा विरोध गरेको थियो। अहिले चीनको उइगरको विषयमा विश्वका प्रमुख शक्ति राष्ट्रले जोडदार रुपमा आवाज उठाउनु जरुरी छ। अन्यथा मानव अधिकारको विषयमा थप भयावह बन्दै जानसक्ने खतरा देखिएको बेलायती पत्रिका न्यू स्टेट्स्मनमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ