arrow

मौद्रिक नीति आउनुअघि राष्ट्र बैंकमा अर्थमन्त्री, दिए यस्ता सुझाव

''जवाफदेहिता विनाको केन्द्रीय बैंकको स्वतन्त्रता अराजक हुन्छ''

logo
प्रकाशित २०७६ असार २३ सोमबार

काठमाडौं । मौद्रिक नीति आउन एक साता बाँकी रहँदा अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा नै पुगेर केही सुझाव दिएका छन् । मुलुकले लिएको दोहोरो अंक नजिकको आर्थिक बृद्धिको लक्ष्य हाँसिल गर्न वित्तीय क्षेत्रले गर्न सक्ने सहयोगहरुको बारेमा सुझाव दिएका छन् । उनले वित्तीय प्रणालीलाई सक्षम बनाउँदै लैजाने तर्फ राष्ट्र बैंक अघि बढ्यो भने मुलुकले आर्थिक बृद्धिमा लिएको लक्ष्य पूरा हुने बताएका छन् । 

अर्थमन्त्री खतिवडाले जवाफदेहिता विनाको स्वतन्त्रता अराजक हुने प्रतिक्रिया समेत दिएका छन् । नेपाल राष्ट्र बैंकको बालुवाटारमा स्थित केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यासको लागि आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका खतिवडा अर्थमन्त्री भएपछि पछिल्लो समय केन्द्रीय बैंकको स्वायत्तता माथि हस्तक्षेप भएको आरोप लाग्ने गरेको छ । यसै सन्दर्भमा अर्थमन्त्री खतिवडाले केन्द्रीय बैंकको स्वायत्तताको लागि जवाफदेहिता अत्यावश्यक रहेको बताएका हुन् ।

छिमेकी मुलुक भारतले बैंकहरुको पुँजीकरणमा ७ खर्ब रुपैयाँ जम्मा गराएको भन्दै नेपालले भने जम्मा दुई वटा सरकारी बैंकहरुलाई ६ अर्ब रुपैयाँ मात्रै पुँजीकरणमा राखेको बताएका छन् । बैंकहरुको निष्कृय कर्जा एकदमै कम भएर दक्षिण एशियामा नै उदाहरणीय रहेको बताए । 

अर्थमन्त्री खतिवडाले अहिले वित्तीय प्रणालीमा परिचालन भएको बचतलाई नागरिकहरुको सिप क्षमताको आधारमा उत्पादक शक्तिको रुपमा विकास गराउनको लागि पुँजी उपलब्ध गराउनुपर्ने बताए । त्यसको लागि सानादेखि ठूलासम्मका पुँजीका आवश्यकताहरु पूरा गर्ने, ठूला व्यवसायदेखि लघुवित्तसम्मको विकासका कुरामा राष्ट्र बैंकले प्रवद्र्धकको भूमिका र नियमनकारी भूमिका निर्वाह गराउने र अन्तराष्ट्रिय पुँजी परिचालन गर्न वित्तीय प्रणालीलाई सक्षम बनाउँदै लैजाने तर्फ राष्ट्र बैंक अघि बढ्यो भने राज्यले आगामी वर्षदेखि सोचेको २ अंक नजिकको आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न सकिने अर्थमन्त्रीको तर्क छ ।

ती आर्थिक लक्ष्यहरु पूरा गर्नको लागि लगानी मात्रै नभएर लगानीको प्रतिफल पनि बढाउनु पर्नेमा उनले जोड दिएका छन् । हाम्रा वित्तीय साधनहरु जुन वित्तीय बजारमा परिचालित हुन्छ । तिनीहरुलाई उत्पादक ढंगले परिचालित हुन् भन्ने अपेक्षा समेत हुने भन्दै यसको लागि राष्ट्र बैंकले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताए । यो वर्ष मूल्य बृद्धि ५ प्रतिशत भन्दा कम हुँदा लगानी बढाउँदै लैजानको लागि सकारात्मक अवस्था सिर्जना भएको भएपनि केही बाह्य समस्याहरुले गर्दा यसमा चुनौती थपिएको उनको भनाई छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ