- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय अभिनेता सनी देवल भारतको गुरदासपुरको सांसद बनेसँगै केही न केही विवादले उनको पिछा छाडेको छैन । लोकसभा निर्वाचनमा निर्धारित सीमाभन्दा बढी खर्च गरेको मामिलामा उनको समस्या बढेको छ ।
उक्त निर्वाचनमा उनले साढे ८ लाख भारु बढी खर्च गरेको पाइएको हो । जिल्लास्तरीय चुनाव निगरानी कमिटीले आफ्नो जाँचको रिपोर्ट राज्य चुनाव आयोग पठाएको छ । यससँगै उनको लोकसभाको सदस्यता खारेजी गर्नुपर्ने आवाज उठ्न थालेको छ । चुनावमा उनका प्रतिद्वन्द्वी सुनील जाखडले उनको संसद सदस्यता रद्द गर्नुपर्ने माग गरेका हुन् ।
लोकसभा चुनावको लागि एक प्रत्याशीले ७० लाख भारुसम्म खर्च गर्न पाउने भारतीय निर्वाचनको व्यवस्था छ । यो रकमभन्दा सनीले ८ लाख ५१ हजार भारु बढी खर्च गरेका हुन् ।
यसअघि प्राथमिक प्रतिवेदनमा भने उनले निर्धारित सीमाभन्दा १८ लाख भारु बढी खर्च गरेको पाइएको थियो । यस विषयमा जिल्ला चुनाव अधिकारीले सनीलाई आफ्नो पक्ष राख्न सूचना जारी गरेका थिए । जवाफमा सनीका वकिलले केही खर्चको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि जिल्ला स्तरीय जाँच कमिटीले पुनः जाँचको निर्देशन दिएको थियो ।
सनी देवलका वकिलले भने जाँच कमिटीले अतिरिक्त खर्च गरेको साढे ८ लाख भारुको प्रमाण नदिएको बताएका छन् । उनले राज्य चुनाव आयोगमा यो निर्णयको विरुद्धमा चुनौती दिने बताएका छन् । सन् २००७ मा यसै मामिलामा उत्तर प्रदेशका विधायक उमलेश यादवलाई तीन वर्ष अयोग्य ठहर गरिएको थियो ।
भारतमा भएको लोकसभा निर्वाचन २०१९ मा सनी देवलले भारतीय जनता पार्टीको तर्फबाट जित हासिल गरेका थिए । अभिनेता देवल पहिलो पटक संसद बनेका छन् । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए ।
सनी देवलले पञ्जावको गुरदासपुरबाट निर्वाचनमा जित हासिल गरेका हुन् । सनी देवलले कांग्रेसका सुनील जाखडसँग प्रतिस्पर्धा गरेका थिए । यो सिट भाजपाको पारम्परिक सिट मानिन्छ । यसअघि सो सिटमा दिवंगत अभिनेता विनोद खन्ना चुनाव लड्ने गर्थे ।
सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका थिए ।
यो पनि पढ्नुहोस्