arrow

भारत–न्यूजिल्याण्डको खेल रिजर्भ डे मै हुने, यस्तो छ प्रक्रिया 

के छ बुधबारको मौसम ? यदि बुधबार पनि वर्षा भए के हुन्छ ? 

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
india-nz-final.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रोकिएको छ ।

म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल बीचमै रोकिएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ ।

रोस टेलर ६७ रनमा नटआउट छन् भने कप्तान केन विलियम्सन ६७ रनमा आउट भए । जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र युजभेन्द्र चाहालले समान १–१ विकेट लिए ।

रोस टेलरसंगै टम लाथम ३ रनमा नटआउट छन् । 

बफर जोनले गरेन काम 
खेल अगाडि बढ्न नसक्दा वर्षा रोकिने आशामा खेल मंगलबार नै सकाउने प्रयास भइरहेको थियो । यसका लागि बफर जोन चलेको थियो । 

यस अनुसार हरेक ४ मिनेटमा एक ओभर घट्दै गएको थियो । यस अनुसार चुनौती पनि परिवर्तन हुँदै गयो । 

यस्तो थियो चुनौतीको आँकडा–
४६ ओभरको खेल भएमा भारतलाई चुनौती २३७ रनको हुने थियो । 

४० ओभरको खेल सम्भव भए चुनौती २२३ रनको हुने थियो । 

३५ ओभरको खेल सम्भव भए चुनौती २०९ रनको हुने थियो । 

३० ओभरको खेल सम्भव भए चुनौती २०९ रनको हुने थियो । 

२५ ओभरको खेल सम्भव भए चुनौती १७२ रनको हुने थियो । 

२० ओभरको खेल सम्भव भए चुनौती १४८ रनको हुने थियो । 

२० भन्दा तलको ओभरमा चुनौती एक दिवसीय क्रिकेटमा दिइँदैन । त्यसकारण मंगलबार सम्भव भएन । 

नेपाली समय अनुसार मंगलबार राति ११ः२० बजेसम्म खेल सम्भव भएको भए भारतले २० ओभरको खेल खेल्न पाउने थियो र १४८ रनको चुनौती पाउने थियो । 

खेल रिजर्भ डे मा 
मंगलबारको खेल सम्भव नभएपछि अब खेल रिजर्भ डे मा गएको छ । यो रिजर्भ डेको नियम अनुसार न्यूजिल्याण्डले ब्याटिङलाई निरन्तरता दिने छ । 

न्यूजिल्याण्डको ब्याटिङ ४६.१ ओभरपछि नियमित हुनेछ । उसका ५ विकेट बाँकी छन् । रोस टेलर ६७ र लाथम ३ रनमा नटआउट छन् । 

भुवनेश्वर कुमारले ११ बल बलिङ गर्न बाँकी छ भने बुम्राहले २ ओभर बलिङ गर्न बाँकी छ । त्यसबाटै न्यूजिल्याण्ड अगाडि खेल्नेछ । 

के छ बुधबारको मौसम ? 
त्यहाँको मौसम विभागका अनुसार बुधबार बादल लाग्नेछ । तर वर्षाले भने असर पार्ने नदेखिएको विभागले जनाएको छ । 

सोमबार भने मंगलबार र बुधबार बर्षा हुने जनाइएको थियो । 

यदि बुधबार पनि वर्षा भए के हुन्छ ? 
बुधबार पनि वर्षा भएर खेल पूरा हुन सकेन भने भारतलाई लटरी लाग्नेछ । 

भारत स्वतः फाइनलमा पुग्नेछ । किनकि आइसीसीको नियमानुसार यदि रिजर्भ डे मा पनि खेल हुन सकेन भने स्वतः लिग चरणको अंक तालिका र रन रेट हेरिन्छ । 

त्यो अनुसार भारत शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेकाले स्वतः फाइनलमा पुग्नेछ । 

दोस्रो सेमिफाइनल बिहीबार 
दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । बिहीबार अष्ट्रेलिया र इंगल्याण्ड खेल्नेछन् । 

अष्ट्रेलिया लिगको दोस्रो स्थानमा रहेर र इंगल्याण्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ