arrow

६ लाखभन्दा बढी परीक्षार्थी एसएलसीमा सहभागी हुने

नियमित र एक्ज्याम्टेड दुवैमा बढी; ग्रेडिङ सिस्टमले बढायो

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
SLC_2072.jpg.jpeg
भक्तपुर। यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । 
 
परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । 
 
परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताउनुभयो । 
 
यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो । 
 
परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ । 
 
यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ । परीक्षाको मर्यादा विपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ 
 
नियमित र एक्ज्याम्टेड दुवैमा बढी
 
यस वर्षको एसएलसीमा नियमित र एक्ज्याम्टेड दुवैतर्फ विद्यार्थीको संख्या बढेको छ । अघिल्लो वर्षको एसएलसीमा नियमितमा चार लाख १० हजार चार सय ३७ र एक्ज्याम्टेडमा एक लाख ४५ हजार दुई सय ५१ गरी कुल पाँच लाख ५५ हजार ६ सय ८८ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष ५९ हजार आठ सय ६५ बढेर ६ लाख १५ हजार पाँच सय ५३ ले आवेदन भरेका छन् । नियमिततर्फ ४२ हजार चार सय ४४ र एक्ज्याम्टेडतर्फ १४ हजार एक सय ६६ बढेका छन्।
 
ग्रेडिङ सिस्टमले बढायो
 
एक्ज्याम्टेड दिने विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण ग्रेडिङ हुन सक्ने परीक्षा नियन्त्रक काप्रीको अनुमान छ। एक्ज्याम्टेडमा प्रत्येक वर्ष एक–दुई हजारको फरक हुनेमा यस वर्ष १४ हजारभन्दा बढी थपिएका छन्। विगतमा जस्तो यस वर्ष पास वा फेल नभनी ग्रेडमा मात्र मूल्यांकन हुने भएकाले पहिले परीक्षा दिन छाडेकाले पनि फारम भरेको हुनसक्ने उनको भनाइ छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ