arrow

कांग्रेस नियमावलीमा शुभेच्छुक संस्थाहरुको सामुहिक आपत्ती 

नियमावलीको व्यवस्था नसच्याए कांग्रेससँग नाता तोड्नेसम्मको चेतावनी

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
nc-subhechhek-trade-union.jpg

काठमाडौ। नेपाली कांग्रेसले ल्याउने अन्तिम तयारी गरेको पार्टीको नियमावली २०७६मा गरिएको शुभेच्छुक संस्थाहरुको बारेको व्यवस्था सच्याउन कांग्रेसका पेशागत शुभेच्छुक संस्थाहरुले माग गरेका छन्। 

शुभेच्छुक संस्थाहरुलाई पूर्णतया नियन्त्रण गर्ने उदेश्यले नियमावलीमा गरिएको प्रावधान नसच्याइए पार्टीसँग नाता तोड्ने सम्मको वहश शुभेच्छुक संस्थाहरुमा उठेको छ। 

नेपाल ट्रेड युनियन कांग्रेसको पहलमा बसेको नेपाली कांग्रेसको पेशागत शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले पार्टी नेतृत्वलाई शुभेच्छुक संस्थाहरुको बारेमा प्रावधानलाई सच्याउन संयुक्त रुपमा लिखित आग्रह गर्ने निर्णय गरेको छ। 

नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको वैठकका सहभागिहरुले नियमावलीमा गरिएको प्रावधानले नेपाली कांग्रेसप्रति पेशाकर्मीहरुको आकर्षण घट्ने र यसले अन्ततोगत्वा कांग्रेसलाई नै घाटा पुर्‍याउने चिन्ता व्यक्त गरे। 

नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा बसेको बैठकमा  प्रजातन्त्रवादी चिकित्सक संघ, डीएलए नेपाल, इन्जिनियर एसोसियसन, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल प्रेस युनियन लगायत संस्थाहरुबाट अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

बैठकका सहभागीहरुले पेशागत शुभेच्छुक संस्थाहरुको प्रकृति अन्य भातृ संस्थाहरु जस्तो नभएकोले पार्टीले ल्याउन लागेको नियमावली २०७६ का केहि बुँदाहरु हटाउनु पर्नेमा जोड दिए । 

नियमावलिमा उल्लेख भएको शुभेच्छुक संस्थाका सदस्यहरु पार्टीको स्वत सदस्य हुनुपर्ने, कुनै पनि शुभेच्छुक संस्थाको कार्य सम्पादन गर्न वा महाधिवेशनमा पार्टीबाट प्रतिनिधि पठाउने र प्रतिनिधिकै सल्लाहमा अनिवार्य काम गर्नु पर्ने प्रावधानको वैठकका सहभागिहरुले विरोध जनाएका हुन्। पार्टीले ल्याएको प्रावधानले पार्टीप्रति पेशाकर्मीहरुको आकर्षण र शुभेच्छा कम हुने बताए। शुभेच्छुक संस्थाप्रति अनावश्यक हस्तक्षेप गर्ने मनसाय राखि गरिएको केन्द्रीय प्रतिनिधी खटाइ महाधिवशेन र कार्यसम्पादन गर्ने कार्य सम्वन्धित संस्थालाई प्रभावित गर्न खोजेको रुपमा सहभागिहरु टिप्पणी गरे। 

पार्टीले कारबाही गर्दा शुभेच्छुक संस्थाबाट पनि स्वत निलम्बित हुने र प्रत्येक वर्ष पार्टीमा नविकरण गर्नुपर्ने बुँदाहरुलाई पुर्णरुपमा हटाउनु पर्ने साझा धारणा शुभेच्छुक संस्थाहरुले बनाएका छन्। यि बुदाहरुले शुभेच्छुक संस्थाहरुलाई कमजोर बनाउनुकासाथै प्राविधिक एवं कानुनी अडचनहरु हुने भएकोले यि बुदाहरु हटाउन संयुक्तरुपमा पार्टीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।

पार्टीले शुभेच्छुक संस्थाहरुलाई असर पार्ने बुदाहरु नहटाए पार्टीको शुभेच्छुक संस्था रहने वा नरहने निर्णय समेत संयुक्त रुपमा गर्ने बताएका छन् । कांग्रेसका महत्वपूर्ण पेशागत शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकलाई पार्टी वृत्तमा समेत महत्त्वकासाथ हेरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ