arrow

कुलभूषण जाधव मामलामा आइसीजेको फैसला भारतको पक्षमा, पाकिस्तानप्रति दवाव बढ्दो 

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
Kulbhusan-jadab.jpeg

काठमाडौं। अन्तर्राष्ट्रिय अदालत आइसीजेले पूर्व भारतीय नेभी कमाण्डर कुलभूषण जाधव मामलामा भारतको पक्षमा फैसला सुनाएको छ। आइसीजेले पाकिस्तानलाई निर्देशन दिँदै जाधवसंग छलफल गर्नका लागि भारतीय कन्सुलरलाई अनुमति दिन भनेको छ। आइसीजेको फैसलाको एक दिनपछि पाकिस्तानले अदालतको आदेश स्विकार्दै कुलभूषणलाई कन्सुलर पहुँच दिने सहमति जनाएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले बयान जारी गर्दै ‘आइसीजेको फैसला अनुसार कुलभूषण जाधवलाई भियना अभिसन्धीको धारा ३६ अनुसार सल्लाहकार पहुँचको उनको अधिकार सम्झाइएको छ। एक जिम्मेदार देश भएका नाताले कानुन मुताबिक कुलभूषणलाई सल्लाहकार पहुँच दिइने छ यसका लागि शर्त तयारी हुँदैछ।’ 

आइसीजेका अध्यक्ष सोमालियाका न्यायाधीश अब्दुलकावी अहमद युसुफले ४२ पृष्ठ लामो फैसलामा पाकिस्तानले जबसम्म पाकिस्तान प्रभावी ढङ्गले फैसलाको समीक्षा तथा पुनर्विचार गर्दैन तबसम्म कुलभूषणलाई फाँसी दिन नपाउने उल्लेख गरेका छन्। आइसीजेले पाकिस्तानमाथि भियना सन्धीको नियम उल्लंघन गरेको आरोप पनि लगाएको छ। उसले भनेको छ ‘पाकिस्तानले कुलभूषणका लागि कानुनी प्रतिनिधि राख्ने अवसर दिएन। यो भियना सन्धीको विरुद्ध हो।’ 

भारतले पटक पटक सल्लाहकार राख्न पाउनु पर्ने माग गरे पनि पाकिस्तानले त्यसलाई नकारेको पनि आइसीजेका न्यायाधीशहरुले बताएका छन्। पाकिस्तानले भारतको अपील नमानेको निष्कर्षसमेत न्यायाधीशहरुको छ। फैसलामा भनिएको छ, ‘पाकिस्तान भियना सन्धी अुनसार कुलभूषणको गिरफ्तारी एवं कारावासको सम्बन्धबारे भारतलाई जानकारी दिन वाध्य थियो। पाकिस्तानले जाधव गिरफ्तारीको सूचना दिन तीन हप्ता लगाएको थियो। यो पनि भियना सन्धीको सर्त उल्लंघन हो। कार्वाहीबारे पाकिस्तानले पुनर्विचार गरोस् ।’ 

पाकिस्तानले गत वर्ष भने कुलभूषणकी आमा र पत्नीलाई भेट्न दिएको थियो । सन् २०१६ को मार्चमा ४९ वर्षीय जाधवलाई पाकिस्तानले आतंकवादी र भारतीय जासुस भन्दै नियन्त्रणमा लिएको थियो । त्यसपछि पाकिस्तानी एक सैन्य अदालतले सन् २०१७ मा जाधवलाई जासुसी अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । सन् २०१७ मै भारतले आइसीजेको ढोका ढक्ढक्याएको थियो।

जित कसको ?
पाकिस्तानले उसको जेलमा रहेका जाधवलाई सल्लाहकार पहुँच दिने घोषणा गरेसंगै भारतले आफ्नो जित भएको दावी गरेको छ । तर दुवै पक्षले आफ्नो जितको ब्याख्या गर्न भने चुकेका छैनन् । भारतको पक्षमा आएको पहिलो फैसलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सधै सबै भारतीयको सुरक्षा र कल्याणको निम्ति काम गर्ने भन्दै कुलभूषणले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । 

भारतले पाकिस्तानमाथि सैन्य अदालतको फैसला रद्ध गर्न कदम चालोस् भन्ने गरेको मागबारे भने आइसीजेको फैसलामा उल्लेख छैन। त्यतिमात्र हैन जाधवलाई रिहा गरेर उनलाई सुरक्षित रुपले भारत फिर्ता पठाउन भारतले गरेको अनुरोधलाई अदालतको आदेशमा उल्लेख नभएको बिषयमा पाकिस्तानले आफ्नो अनुकुलको व्याख्या गरेको छ।

भारतीयहरुले केही समयअघि पाकिस्तानाद्धारा नियन्त्रणमा लिइएका कमाण्डर अभिनन्दनलाई जसरी सम्मानपूर्वक भारतलाई सुम्पिइएको थियो त्यसरी नै जाधवलाई पनि सुम्पिने दावी गरेका छन्। यद्यपी अन्तराष्ट्रियस्तरमा पाकिस्तान माथि बढेको दवावलाई हेर्दा पाकिस्तान ढीलो चाँडो जाधवलाई बुझाउने बाटोमा आउन सक्ने देखिन्छ। तर बलचाहिं पाकिस्तानकै कोर्टमा नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ