arrow

भेटिएनन् पहिरोमा हराएका तीन जना, १० को मृत्यु, तीन दर्जन परिवारको उठिवास

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ साउन ८ बुधबार
death-flood.jpg

गुल्मी। सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको स‌ंख्या १० पुगेको छ । तीन जना हराइरहेका छन्। पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा ७ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो।

वडा नम्बर ४ को भिरकुनामा दुई सय मिटर माथिबाट आएको पहिरोले घर बगाउँदा ३२ बर्षकी निर्मला विक, २९ वर्षकी पम्फा विक, १२ बर्षकी अञ्जली विक, ५ बर्षकी हिमांशु विक, ७० बर्षकी छली विक, ९ बर्षकी सिवानी विकको मृत्यु भएको छ। ७ बर्षकी तारा विक र डेढ बर्षका एक बच्चा बेपत्ता भएको वडा अध्यक्ष दानबहादुर रानाले बताए। लगातार भइरहेको वर्षाका कारण मंगलबार बिहान ३ बजे पहिरोले  छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाएको हो।

पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ। पहिरो आएको थाहा पाएपछि उनीहरुले भागेर ज्यान जोगाएको रानाले बताए। अझै पनि १८–२० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माबिमा स्थान्तरन गरिएको छ।

त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामु मगर र दुर्गा सिन्जालीको मृत्यु भएको स्थलगत रूपमा उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए।

तिलकुमारीकी छोरी करिष्मा र  छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ। घाइतेको गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएकाले उपचार गर्न लागि लैजान समस्या भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए। लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा माया र बबि बिक दुई जना हराइरहेका छन् । प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेको रानाले बताए।

लुम्पेकमा प्रहरी नायब उपरीक्षक मीन घले र सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश रायमाझी सहितको टोली उद्धारमा खटिएको छ भने लिम्घामा इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक राधेश्याम सिहसहितको प्रहरी टोली पुगेको छ। लिम्घाको मुख्य सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध छ । जसका कारण जिल्लाबाट राहत र उद्दारमा आउने टोलीलाई समस्या भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ