arrow

चीन–पाकिस्तानबीच मतभिन्नता बढ्दो, पाकिस्तानी सेनामा अमेरिकी र चिनियाँ लवीको द्वन्द

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
pak-army.jpg

काठमाडौं। पछिल्लो समय भारतको पुलवामा आक्रमणका मास्टरमाइन्ड मासूद अजहरको मुद्दामा चीनले साथ छाडेर पाकिस्तान रक्षात्मक भएसँगै चीन र पाकिस्तानबीचको मतभिन्नता सतहमा आएको छ। त्यसो त यसअघि नै चीन र पाकिस्तानको बीचमा केही मतभिन्नताहरु सार्वजनिक हुँदै आएका थिए।
 
पाकिस्तानलाई लगाइएको न्युक्लियर हतियार उत्पादनको प्रतिबन्ध यसको एक पाटो मान्न सकिन्छ। पाकिस्तानले यो प्रतिबन्ध एक साताका लागि मात्र पर सार्न आग्रह गर्दा पनि चीनले मानेको थिएन। संयोग कस्तो थियो भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चीन भ्रमणलगत्तै पाकिस्तानमाथि प्रतिबन्ध लाग्यो। पाकिस्तानलाई इमरान खानको भ्रमणको क्रममा पनि केही सम्झौता गर्न बाध्य बनाइएको पाकिस्तानी अधिकारीहरुले नाम उल्लेख नगर्ने शर्तमा भन्दै आएका छ्न्।

चीनले पाकिस्तानलाई आफ्नो बेखुसीको स्पष्ट सन्देश दिन चाहन्थ्यो जुनकुरा इमरान खानलाई चीनले आफ्नो उपमेयरको हैसियतको अधिकारीले स्वागत गरेबाट पनि प्रकट गर्यो। पाकिस्तानी सरकार प्रमुखलाई सबैभन्दा तल्लो दर्जाका अधिकारीले स्वागत गरेको यो नै पहिलो पटक थियो।

आफ्नो जलसेनाको ७० वर्षको उपलक्ष्यमा पाकिस्तानले आयोजना गरेको कार्यक्रममा चीनले भाग नलिएको भन्दै असन्तुष्टि जनाइसकेको छ। इमरान खानले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक) बारे अध्ययन शुरु गर्न थालेपछि चीन र पाकिस्तानको सम्बन्ध केही चिसिएको थियो। उनले सत्तामा आएसँगै प्रमुख तीन योजना स्थगित गरेका थिए। उनले १७ करोड ५० लाख डलरको कोष अर्को परियोजनाको लागि प्रयोग गर्ने निर्णय समेत गरेका थिए। त्यसका साथै पाकिस्तानले साउदी अरेबियालाई चीनसँग कुनै सल्लाह नगरी ग्वाडार बन्दरगाहको ढोका खोल्ने निर्णय गरेको थियो। 

चीन र पाकिस्तानी सेनाबीचको विवाद 
अहिले पाकिस्तानी सेना अमेरिका पक्षधर र चीन पक्षधर गरी दुई ध्रुवमा विभाजित भएको छ। यसअघि कुनै समय पाकिस्तान र अमेरिकी सेनाको बीचमा पनि राम्रो सम्बन्ध थियो। साथै पाकिस्तानी सेना बेलायती संस्कार अनुसार स्थापना भएको कारण पनि पाकिस्तानमा अमेरिका बेलायतलगायत पश्चिमी क्षेत्रतर्फ ढल्किनेको राम्रो जमात छ। उनीहरु चिनियाँ मोडलप्रति अभ्यस्त छैनन्। साथै पाकिस्तानी सेना चिनियाँ सेनाभन्दा योग्य भएकोमा विश्वास गर्छन्। तर, अहिले सीपेक तथा अन्य केही योजनाको कारण पाकिस्तानी सेनाले चीनलाई अस्वीकार गर्नसक्ने अवस्था पनि छैन। यसले पाकिस्तानमा चीनप्रति इमान्दार हुने समुहको पनि खडा गर्यो। अहिले पाकिस्तानमा यो विवाद खुल्लारुपमा देखिएको छ। तर, पाकिस्तानले त्यसलाई नियन्त्रण गर्दै एक निश्चित दिशा दिने तयारी गरेको छ। यहि सन्दर्भमा पहिलोपटक सैन्य अधिकारीलाई घरमा नजरबन्दमा राखिएको छ।

अहिले दुवै मुलुकले एकअर्काबाट उल्लेख्य फाइदा लिनुपर्ने बताउँदै आएका छन्। तर, पाकिस्तानको लागि भने चीनसँगको सम्बन्ध नौलो कुरा हो। अहिले चीनले उइगुर मुस्लिममाथि गर्ने व्यवहार, भ्रष्टाचार र सीपेकको सुरक्षा चुनौतीलगायतका विषयमा दुई मुलुकबीच विवाद छ। पाकिस्तान र चीन दुवै आफ्नो समस्या समाधानको लागि संघर्ष गरिरहेका छन्। पाकिस्तान आफ्नो आर्थिक अवस्थामा सुधारको लागि संघर्ष गरिरहेको छ। त्यसका लागि उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग बेलआउट प्याकेज लिएको छ। यस्तोमा उसलाई अमेरिकाको पनि साथ लिएर अघि बढ्नु उत्तिकै जरुरी छ।

अर्कोतर्फ चीन पनि वान बेल्ट वान रोड (ओबीओआर)को योजनामा सहमति जुटाउन संघर्ष गरिरहेको छ। यस्तोमा सीमित आर्थिक स्रोतबाट पनि यो योजना अघि बढाउनुपर्ने चुनौती उसका लागि पनि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ