arrow

बिडारीको रक्सी विद्रोह

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
ramnarayan-bidari.JPG

काठमाडौं । विषय वस्तुको उठान र प्रस्तुति शैली । यी दुई विधाका कारण राष्ट्रियसभाका नेकपा सांसद रामनायारण बिडारी चर्चित लाग्छन् । 

मन नपर्ने मान्छेलाई पनि उनको प्रस्तुति जोसिलो लाग्छ । एक खालको माहोल बनाउन खप्पिस छन् उनी । थाहा अभियन्ता रुपचन्द्र विष्टका चेला बिडारी कानुन व्यवसायी पनि हुन् । 

प्रचण्ड प्रधानमन्त्री हुँदा उनी कानुनी सल्लाहकार नै थिए । खरो र अनौठो प्रस्तुतीमा उनलाई संघीय संसदका कुनै पनि सदस्यले भेटाउन सक्दैनन् । 

यिनै बिडारीले राष्ट्रियसभा बैठकमा रक्सीमाथिको कडाइका विषयमा अति रमाइलो पारामा बोले । उनले रक्सी जोन तोक्न माग गरे । 

अर्थमन्त्री युवराज खतिवडाकै सामुन्ने उनले, सरकारको उछितो काढे । जँड्याहको नाम सूची सार्वजनिक रुपमै राख्न पनि माग गरे । 

यस्तो थियो उनको प्रस्तुतिः 
‘मादक पदार्थ ।  रक्सी । रक्सी मजा......ले चाइनि खान पाइनि । जति पनि खान पाइनि । जाँ बसेर नि खान पाइनि । मन्दिरका वरिपरि पनि पाइनि, अस्पतालका वरिपरि पनि पाइनि । जाँ सुकै ठाउँमा पाइनि । मज्जैसँग रक्सी खान पाइनि देश काँछ पृथिबीमा भन्यो भने हाम्रो देशको नाउँ आउँदो रैछ । सन्सारमा यस्तै छैन । 

अध्यक्ष महोदय, संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने, निश्चित पसलले मात्र रक्सी बेच्ने, निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने नियम छ । ब्या गर्नलाई २० वर्ष हुन पर्नि, रक्सी खानलाई ६ वर्ष भएनि हुनि’? उनले प्रश्नमाथि प्रश्न गर्न थाले । 

‘त्यसकारणले यस्तो नियम बनाउन नसक्नि ? सरकारलाई यो कल्ले छेक्यो ? एउडा सटरमा औषधी पसल, अर्को सटरमा आर्को सटरमा रक्सी पसल’ ।  उनले व्यंग्य गर्न थाले । 

‘अनि अगाडि पटि औषधी पसल पछाडि पटि रक्सी पसल । किन ग-यो सरकार भन्या त, कर असुल्न । पैसा चाइयो नि कर उठाउन पर्यो । रक्सीमा बडाइदिनि कर । अनि पैसा ग्यामग्याम आउँछ, अनि मोटर चढ्नी के के गर्नि जम्मैथोक गर्नि भन्नलाई गर्या हो’? उनले दनक दिए ।

‘हैन भने वर्तमान सरकारको ध्यान जाओस्’ उनले थपे, ‘अब २२ वर्ष नपुग्याले रक्सी किन्न नपाउने । जँड्याहाहरुको लिष्टै बनाउनी वडा वडामा । यो वडामा को को जंड्याहाले कति कति रक्सी कतिकति रक्सी किन्छ, त्यस्को लिष्ट हुनि । मदिरा सराबी पिउनेवालाका नाम भनेर इण्डियामा जसरी आउँछ, त्यसैगरी बनाउनि। यो प्रकारको काम हामीले किन नग-या ? विदेशमा त्येस्तो छ ? जाँ पनि रक्सी किन्न पाइन्छ ? जल्ले पनि रक्सी खान पाउँछ’ ? आक्रोसित मुद्रा देखाए । 

उनले सरकारलाई सल्ला दिए, ‘यो प्रकारका कुरालाई हेरेर अर्कै रक्सी जोन देखाइदिनुस्न । धुम्रपान जोन भन्या जस्तै । रक्सीखानिका लागि नगरकोटको फालनु भन्दिनु । अथवा फलानु जंगलको कुना भन्नू । नाम लेखाएर जानुपर्छ भन्नू’ । 

उनले सरकारलाई सुनाइदिन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनापट्टि फर्किँदै भने, ‘नेपाल सरखारलाई हाम्रो चाइने अध्यक्ष मार्फत के भन्न चाहन्छु भने, घरेलु हिंसा हटाउनि हो ? महिला हिंसा हटाउनि हो ? संगठित अपराध हटाउनि हो ? रात्री अपराध घटाउनि हो ? यो भनि यसो गर्नुस्’ । 

बिडारीले भाका मिलाइमिलाइ, पारा मिलाइमिलाइ रक्सीको विषयमा बोलिरहँदा, अर्थमन्त्री युवराज खतिवडा मुसुमुसु हाँसिरहे, सांसद कोमल वली ट्वाँ परिन् । अरु सांसद पनि हँसिला देखिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ