arrow

केसीसी एक्जिबिट सुरु, विद्यार्थीहरुको आकर्षण

‘युवालाई ऊर्जा र उद्यमशीलतासँग जोड्नुपर्छ’

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
ktm1.jpg

काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)ले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०१९’  सुरु भएको छ । निपुर्ण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनीको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गर्दै युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताए ।

कार्यक्रममा उनले देश विकासमा युवाको भूमिकामा जोड दिए ।  मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

नेपालमा दक्ष र प्राविधिक जनशक्तिको उत्पादन बढाउँदै जानुपर्ने उनले बताए । युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्ने उनले बताए । उनले भने, “हिजो देशभित्र श्रमको सम्मान नभएकामा अहिले हामी त्यो बदल्न लाग्नुपर्छ ।”

राष्ट्रिय सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री सुनारले बताए । यस्ता कार्यक्रमहरुले नै युवालाई अघि बढाउने उनले उल्लेख गरे । उनले भने, “युवाहरुलाई खाडी देशमा होइन यहीँ अनुसन्धान र स्वरोजगारीमा लगाउनुपर्छ ।”

प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गरे । उनले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गरे । सूचना–प्रविधिमार्फत् सशक्तिकरण गर्दै यस्तो उपायगर्न सकिने उनको दाबी छ ।

नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्ने बताए ।
 
नेपाल इञ्जिनीयरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए । कलेजका अध्यक्ष सुमन कटवालले कलेजले बर्सेनी यस्ता प्रदर्शनी गर्दै आएको बताए ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत देखिका प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे ।

कलेजका प्रिन्सिपल राजु कट्टेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक कुशल निरौलाले कार्यक्रमबारे प्रकाश राख्दै यसलाई मनोरञ्जन र ज्ञानको सम्मिश्रणका रूपमा चित्रण गरे।

सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)ले केसीसी एक्जिबिट २०१९ आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंक, सुबिसु, नेपाल टेलिकम, इ–सेवा, सगरमाथा इन्स्योरेन्स, कोकाकोला, अग्निमोटोइन्क प्रा.लि., इबीपल्र्स, इम्पलोइ प्रोभिडेन्ट फन्ड, नियोस्फेर, नेपाल दूरसञ्चार प्राधिकरण, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, क्यान फेडरेसनलगायत रहेका छन् ।

प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ ।

शनिबारका कार्यक्रममा ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जिएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् । कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मचल्नेछ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ