arrow

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

logo
भरत प्रधान,
प्रकाशित २०७६ साउन १२ आइतबार
international-schools-in-portugal.jpg

पोर्चुगल । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ ।

यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ । नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अङ्ग्रेजी र पोचुगालीभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् । नेपालीभन्दा अङ्ग्रेजी र पोर्चुगाली सजिलो लाग्ने उनको भनाइ थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जानेसमेत बताइन् ।

सदीक्षा जस्तै चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुँवरको पनि उस्तै समस्या छ । उनीहरु पनि यहांँको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । दश वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् । सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगाली भाषा खरर बोल्न र लेख्न आउँछ । तर नेपाली भाषा बोल्नसक्ने भए पनि लेख्न भने उनीहरु दुवैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भए पनि यहाँको स्थानीय विद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगाली नै भएका कारण पनि उनीहरूलाई नेपाली भाषामा समस्या भएको हो ।

सदीक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकांश नेपाली बालबालिकामा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा देखिएका यस्ता समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ ।

समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।  

पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले राससलाई जानकारी दिनुभयो । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताउनुभयो ।

राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताउनुभयो । उनीहरुलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ ।

नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिनुुभयो । अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उहाँले बताउनुभयो । आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरु नेपाली सिक्न उत्साहित छन् ।

पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । आफ्ना बालबालिकामा नेपाली भाषामा समस्या देखिएपछि चिन्तित बनेका अभिभावकलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहाँका अभिभावको प्रतिक्रिया छ । विदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभुलुन् र नबिर्सिउन् भन्ने उनीहरुको चाहना छ । तर बालबालिका विद्यालयमा पनि पोर्चुगाली भाषा बोल्ने र साथीसङ्गी पनि पोर्चुगाली हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकको बुझाइ छ ।

विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन हुँदा आफूहरुलाई राहत मिलेको अभिभावक सरिता गौतमले बताउनुभयो । पाठशाला जान थालेपछि आफ्नी छोरीको नेपाली लेख्ने र पढ्ने बानीको विकास भएको उहाँले बताउनुभयो । आंशिक मात्र नभएर नेपाली पाठशालालाई नियमितरूपमा सञ्चालन गर्नसके अझै प्रभावकारी हुने गौतमको तर्क छ ।

नेपालमा कक्षा २ अध्ययन गर्दै गरेका छोरालाई चार वर्ष अगाडि पोर्चुगल ल्याएकी पोखराकी वसन्ती कुँवरले आफ्नो छोराले नेपाली भुल्न थालेपछि चिन्तित बनेको बताउनुभयो । “विदेशमा बसिएको छ, छोराले यहाँको सबै कुरा जानेको छ तर नेपाली भाषा र संस्कार भुल्दै गएको छ । आफन्तहरु कसलाई के साइनोले बोलाउनुपर्छ भन्ने कुरा पनि बिर्सिसके । नेपाली संस्कार र संस्कृति नै भुल्छन् कि भन्ने पीर छ”, कुँवरले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी जस्ता अभिभावकका चिन्तालाई पाठशालाले राहत प्रदान गरेको छ ।” पाठशालालाई सःशुल्क नै बनाएर भए पनि नियिमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।

पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जागृति गर्न पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजकी पूर्वअध्यक्ष सीता बरालले बताउनुभयो । विभिन्न समस्या भए पनि विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो ।

“विश्वको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौँ । विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु हाम्रो दायित्व हो । उनीहरुले नेपाली भाषा र संस्कृति नभुलुन् र नबिर्सिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, बरालले रासससँग भन्नुभयो । यो अभियानले नेपाली भाषा र नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

आगामी दिनमा यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय गरेर पाठशालालाई थप व्यवस्थित गर्दै सरकारीस्तरबाटै स्वीकृति लिएर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । (तस्बीर उपलब्ध छ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ