arrow

प्रतिपक्षलाई संसदमा विरोध गर्ने ३७ प्रतिशत समय थपे सभामुखले 

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
samsad-congress.jpg

काठमाडौं । सोमबारको जस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले बुधबार पनि संसदमा अवरोध गरेका छन् । बुधबार विहान ११ बजे बसेको बैठक झण्डै ५५ मिनेटसम्म प्रतिपक्षले विरोध गरेपछि संसद बैठक अवरोध भयो । सोमबार दिउँसो १ बजेको प्रतिनिधि सभाको बैठकमा ३९ मिनेटसम्म प्रतिपक्षी सांसदहरुले निरन्तर विरोध गरिरहे। 

सुरुदेखि नै बैठक अवरुद्ध गरेका प्रतिपक्षीहरुलाई सभामुख कृष्णबहादुर महराले ३९ मिनेटसम्म सहजीकरणको प्रयास पनि गरेनन् र संसद बैठक स्थगित पनि गरेनन् । यसको एउटै कारण हुनसक्छ सांसदहरु केहीबेरमा थाक्नेछन् र आ आफ्नो स्थानमा गएर बस्छन् भन्ने । तर, झण्डै ४० मिनेटसम्म प्रतिपक्षले विरोध गरिरहेपछि बल्ल सभामुख महराले बैठक सोमबारको लागि स्थगित भएको सुनाए । 

बुधबारको संसदमा पनि सोमबारको भन्दा धेरै फरक परिदृश्य देखिएन । सभामुखले प्रतिपक्षलाई बस्न आग्रह गरिरहे तर प्रतिपक्षले विरोध गरिरहे । मात्रै फरक यो भयो कि प्रतिपक्षलाई सभामुख कृष्णबहादुर महराले थप केही समय बढाए । प्रतिपक्षलाई संसदमा विरोध गर्ने ३७ प्रतिशत समय थप गर्दै सभामुखले ५५ मिनेटपछि बिहीबार दिउँसो २ बजेसम्मको लागि संसद बैठक स्थगित गरेका छन्। 

केही दिन अघि सर्लाहीमा 'इन्काउन्टर'मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनामा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै विपक्षीहरुले केहीदिनदेखि संसद अवरोध गर्दै आएका छन् । गत बुधबारदेखि सुरु भएको संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश र छलफल गर्नको लागि प्रतिपक्षीले अबरोध खुलाएका थिए । फेरि सोमबारको बैठकमा उनीहरुले यसमा अवरोध जनाए । यसरी लामो समयसम्म माग पूरा गर्न नसक्ने सभामुख महराले आफ्नो कुशलता देखाउन नसकेपनि प्रतिपक्षको विरोधकाबीच शून्य समयको प्रक्रिया प्रारम्भ गरेपछि विपक्षीहरु रोष्ट्रम घेर्न पुगेका थिए। सोही काम पुनः बुधबार पनि दोहोर्याईएको हो ।

कांग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ