arrow

ट्रम्पलाई जिस्काउँदै चीन 

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
usa-china.jpg

काठमाडौं । पछिल्लो समय अमेरिका–चीनबीचको व्यापार युद्ध धेरैको चासोको विषय बन्न पुगेको छ । विगत एक वर्षदेखि जारी व्यापार युद्धको कारण दुवै मुलुक अहिले आर्थिक हिसाबमा समस्यामा देखिएका छन् । 

जसको कारण अहिले तत्कालका लागि दुवै मुलुक व्यापारिक समस्या समाधानको खोजीमा छन् । यस्तोमा एउटाले अर्कोलाई दोषारोपण गरिरहेका छन् । 

व्यापार युद्धको असर 
गत वर्षदेखि शुरु भएको व्यापार युद्धको कारण अमेरिका र चीन दुवै मुलुकको अर्थतन्त्र प्रभावित बन्न पुगेका छन् । सन् २०१८ मा अमेरिकाको अर्थतन्त्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लक्ष्यभन्दा कमजोर रहेको पाइएको थियो ।

वर्षको दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर पनि २७ वर्षकै सबैभन्दा कमजोर ६.२ प्रतिशतमा आइपुगेको थियो । यस्तोमा ट्रम्पले चीनलाई व्यापारयुद्धले प्रभाव पारेको भन्दै व्यापार सम्झौता गर्न उसलाई दबाब रहेको बताउँदै आएका छन् । 

विश्लेषकहरुले भने अमेरिकालाई पनि व्यापार युद्धले उत्तिकै प्रभाव पारेको बताइरहेका छन् । यस्तो अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकले पनि अमेरिका चीन लगायतका विश्वका सबैजसो मुलुक व्यापारयुद्धको मारमा परेको भन्दै कमजोर आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् । 

यसले पनि व्यापार युद्धबाट बच्न अहिले निकै जरुरी रहेको देखिन्छ । त्यसैले पनि दुवै मुलुक व्यापार वार्तामा विशेष जोड दिइरहेका छन् । तर अहिलेसम्म ठोस नतिजा भने हासिल हुन सकेको छैन । 

ट्रम्पको योजना 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले अमेरिकाले चीनसँग भोगिरहेको व्यापार घाटालाई २ खर्ब डलरमा झार्ने दाउमा छन् । जबकी गत वर्ष अमेरिकाको चीनसँगको व्यापार घाटा ४ खर्ब डलर नाघिसकेको छ । 

यस्तोमा व्यापार घाटामार्फत् भएको नोक्सानी आयात करबाट उठाउने उनको योजना रहेको छ । उनले चीनले अमेरिकाको रोजगारी खोसिरहेको बताउँदै आएका छन् । यसबाट अमेरिकालाई ठूलो नोक्सानी हुँदै आएको उनको भनाइ छ । 

चीनमा अमेरिकी प्रविधि कम्पनीले सहज प्रवेश पाउनु पर्ने उनको माग छ । अमेरिकामा चिनियाँ कम्पनीलाई प्रवेशमा कुने रोक नगलाइएको तर चीनले भने अमेरिकी कम्पनीलाई आफ्नो बजारमा प्रवेश गर्न नदिएको ट्रम्पले आरोप लगाउँदै आएका छन् । चीनमा गुगल, ट्वीटर, युट्युबजस्ता प्रविधि कम्पनीमा रोक लगाइएको छ । 

ट्रम्पले पछिल्लो समय चिनियाँ कम्पनीलाई पनि अमेरिकामा प्रवेशमा रोक लगाउने योजना अघि सारेका छन् । यसअघि चिनियाँ दूरसञ्चार कम्पनी जेटीईलाई उल्लेख्य जरिवानासहित अमेरिकामा लगाइएको प्रतिबन्ध फुकाइएकोमा अहिले अर्को दूरसञ्चार कम्पनी हुवावेईमाथि प्रतिबन्ध लगाएको छ । 

हुवावेईमाथिको प्रतिबन्धले अमेरिकी कम्पनीहरु नै समस्यामा पर्नसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् । अझै पनि हुवावेईमाथिको प्रतिबन्धबारे अमेरिकामा आशंका देखिएको छ । यस्तोमा चीनलाई दबाब दिँदै आफूलाई व्यापारमा सहज हुने किसिमको सम्झौतामा हस्ताक्षर गराउने पक्षमा अमेरिका छ ।
 
चीनको चाल 
चीनले भने अमेरिकाले लगाउँदै आएको प्रविधि चोरीको आरोप अस्वीकार गर्दै आएको छ । उसले आफैंलाई विश्वकै प्रमुख प्रविधिको मुलुकको रुपमा विस्तार गरिरहेको छ । यस्तोमा अबको केही वर्षमा अर्थतन्त्रको हिसाबमा अमेरिकालाई पछि पार्ने दाउमा छ ।

त्यसैले चीन आर्थिक वृद्धिदर उच्च राख्न चाहन्छ । यस्तोमा चिनियाँ कम्पनीको विस्तारमा चीनले विशेष जोड दिइरहेको छ । साथै नयाँ प्रविधिमा पनि उसले व्यापक खर्च गरिरहेको छ । 

यस्तोमा अमेरिकासँग निश्चित सीमाभन्दा तल गएर व्यापार सम्झौता गर्ने पक्षमा चीन देखिँदैन । चीन आर्थिक हिसाबमा आफूलाई फाइदा हुने अवस्थामा मात्र अमेरिकासँग व्यापार सम्झौता गर्ने पक्षमा छ । तर, अमेरिकाले थप सामग्रीमा कर बढाओस् भन्ने पनि चीन चाहँदैन । त्यसैले अहिले व्यापारिक हिसाबमा विभिन्न अन्योल देखिएको छ ।

ट्रम्पलाई थमथम्याउने प्रयास 
व्यापार सम्झौताको विषयमा चीनले अमेरिकालाई थमथम्याउने प्रयास गरिरहेको स्पष्ट देख्न सकिन्छ । अमेरिकासँगको व्यापार वार्ता विना कुनै निष्कर्ष सकिनु नौलो कुरा होइन । बुधवारको वार्ता पनि सकारात्मक रहेको दुवै पक्षले बताएका छन् ।

तर, उक्त वार्तामा पनि व्यापार सम्झौता भने हुन सकेन । यसअघि चरणबद्धरुपमा भने वार्ताबाट पनि समाधान भने निस्किन सकेको थिएन । उक्त वार्तामा सम्झौता हुन नसकेसँगै अमेरिकाले थप २ खर्ब डलरका चिनियाँ सामग्रीमा कर बढाएको थियो ।  गत मे महीनायता दुई मुलुकको बीचमा कुनै सम्झौता हुन सकेको छैन ।

यसैबीच ट्रम्पले चीन सन् २०२० को निर्वाचनको प्रतीक्षामा रहेको र व्यापार सम्झौताको लागि इच्छुक नदेखिएको बताएका छन् । यो निर्वाचनमा ट्रम्प विपक्षी पार्टीका नेतासँग पराजित हुने अनुमान भइरहेको अवस्थामा चीनले पनि यो निर्वाचनलाई कुरेर डेमोक्रेटसँग सम्झौता गर्ने योजना बनाएको उनको भनाइ छ । उनको यो भनाइले चीन अहिले ट्रम्पलाई व्यापार वार्ताको नाममा थमथम्याउने प्रयासमा रहेको र आगामी निर्वाचनपछि नयाँ व्यापार सम्झौता गर्ने दाउमा रहेको देखिन्छ । 

यसैबीच ट्रम्पले चीनलाई व्यापारिक दबाब दिन चीनलाई विकासशील मुलुकको दर्जाबाट हटाउने चेतावनी दिएका छन् । चीनले यसको प्रतिवाद गर्दै यो अमेरिकाको अहंकार रहेको बताएको छ ।

यसरी हेर्दा अमेरिका चीनलाई प्रहार गरिरहेको र चीनले ट्रम्पलाई जिस्काइरहेको देखिन्छ । यसको नतिजा कस्तो देखिने हो, त्यो भने आगामी दिनमा देखिएला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ