arrow

पोखरामा नवोदितसहित तीन कवि प्रस्तुत 

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
kabi.jpg

पोखरा । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो शृंखलाका रुपमा आयोजित कार्यक्रममा नवोदितसहित पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । 

कार्यक्रममा पत्रकारसमेत रहेका नवोदितले ‘देश छाड्नुअघि’, ‘शासक र भगवान’, ‘कुरुप समयको बयान’ र ‘रहर’ शीर्षकको चारवटा कविता प्रस्तुत गरे । 

दुई दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितको दुईवटा कवितासंग्रह प्रकाशित छन् भने दुईवटै सम्पादित कृति छन् । गत असार १९ गते काठमाडौंस्थित राष्ट्रिय सांस्कृतिक संस्थानले नवोदितको एकल कविता वाचन कार्यक्रम गरेको थियो । 

त्यसअघि विराटनगरको देवकोटा पुस्तकालय र झोराहाट नाट्य समूहले समेत नवोदितलाई प्रस्तुत गरिसकेको थियो । पोखरेली स्रोतामाझ नवोदित पहिलोपटक प्रस्तुत भएका हुन् । 

त्यस्तै तीन दशकदेखि साहित्यमा सक्रिय सरुले ‘माटो’, ‘नबिसाऊ आवाजहरू’, ‘उनी अचेल आमा भएका छन्’ र ‘म हुँ एक सलाइको काँटी,’ कविता प्रस्तुत गरिन् ।

उनको ‘थुङ्गाथुङ्गा जिन्दगानी’ गीतसंग्रह, ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ दुईवटा कवितासंग्रह प्रकाशित छन् । स्याङ्जाली कवि समीरले ‘बा हुनुको अर्थ’, ‘परदेशी छोरालाई आमाको पत्र’, ‘युग नायकको आगमन’ र ‘अचानक’ शीर्षकको कविता वाचन गरे । 

डेढ दशकदेखि साहित्य लेखनमा सक्रिय समीरको ‘गाउँमा साइरन बजेपछि’ कवितासंग्रह प्रकाशित छ । 

मञ्चका अध्यक्ष कटवाल दीपकको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, अनिल पौडेल, प्रकट पगेंनी शिव, गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद शर्मा, पोखरा थिएटरका निर्देशक परिवर्तनलगायतले तीनजनाकै कविताले आमनेपाली जनताले भोग्नुपरेका पीडालाई सशक्त रुपमा उठान गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ