arrow

सरकारको आर्थिक बृद्धिको लक्ष्यमा पहिलो महिनामा नै धक्काको संकेत

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
Dhan-Ropai.jpg.jpeg

काठमाडौं । समयमा मनसुनले साथ नदिँदा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा बोकेको धान उत्पादनमा कमि आउने देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार साउन २२ गतेसम्म कूल ८९.९७ प्रतिशत मात्र रोपाईं भएको उल्लेख गरिएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको यही समयसम्ममा झण्डै ९३ प्रतिशत रोपाई भएको थियो ।  

कूल गार्हस्थ उत्पादनमा धानको योगदान १५.३५ प्रतिशत हिस्सा अघिल्लो आर्थिक वर्ष रहेको थियो । यति धेरै महत्वपूर्ण क्षेत्र पनि अहिलेसम्म पनि मनसुनमा मात्रै निर्भर रहने गर्दा मनसुनले धोका दिएको हो । जानकारहरुका अनुसार सरकारले सिंहदरबारको झ्यालबाट हेरेर तयार पारेको यो प्रतिशत अनुसार पनि यो वर्ष रोपाईं हुन सकेको छैन । वास्तविकतालाई आधार मान्दा मन्त्रालयले भनेको भन्दा कम रोपाईं रहेको जानकारहरुको दाबी छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपचन्द्र भट्टराईले यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा केही कम रोपाईं भएको जानकारी दिए । उनले ९० प्रतिशतको हाराहारीमा यो वर्ष रोपाईं रहेको भन्ने मन्त्रालयको तथ्यांक रहेको जानकारी दिए । कूल २९.५ प्रतिशत कृषि तथा पशुपालनको योगदान रहेको जीडीपीमा १५ प्रतिशत त धानको मात्रै योगदान रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

आर्थिक सर्वेक्षण २०७५र७६ का अनुसार नेपालमा कूल ११४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख १० हजार धान उत्पादन भएको संशोधित अनुमान गरिएको थियो । सरकारी तथ्यांक अनुसार नेपालमा ६१ लाख टन धानको वार्षिक माग हुने गरेको छ । नेपालमा भारत, चीन र तेस्रो मुलुकहरुबाट न्यून मात्रामा धानको आयात हुने गरेको छ । त्यसको अर्थ धानले नेपालको आवश्यकतालाई धेरै हदसम्म पूर्ति गरेको छ । तर, मनसुनकोमात्रै भर पर्दा मनसुनले धोका दिएको हो । 

सरकारले अनुमान गरेको यो तथ्यांक पछिल्लो १० वर्षको सबैभन्दा धेरै हो । तर, अघिलो आर्थिक वर्षमा ५१ लाख ५१ हजार ९ सय २५ टन उत्पादन भएको थियो । आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३र७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषिविद् नेत्र तिमल्सिनाले अब धान रोप्ने सम्भावना नै नरहेको भन्दै अब मौसमले कति साथ दिन्छ भनेर अझै हेर्ने समय रहेको बताए । उनले सरकारले भनेको तथ्यांकलाई आधार मान्ने हो भने यो त्यत्ति धेरै चिन्ताजनक नभएको बताए । अझै पनि भदौंको दोस्रो सातासम्मको मौसमलाई हेरेर मात्रै धान उत्पादनको प्रारम्भिक आकलन गर्न सक्ने बताए । 

उनले धानको प्रकृति नै १५ दिनसम्म पानी नपरेर सुके पनि फेरि पानी परेपछि धानमा बाला हाल्न थाल्ने भएकोले पनि भदौ दोस्रो सातापछि मात्रै यसको आकलन गर्न सक्ने स्पष्ट पारेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ