arrow

उद्योग मन्त्री बोले : औषधि उत्पादनको तथ्यांक छैन, तर केही वर्षमै आत्मनिर्भर

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
matrika-yadhav.jpg

काठमाडौं । हाम्रो प्रशासन संयन्त्र कति कमजोर छ र हाम्रा मन्त्रीहरु कति गैर जिम्मेवार छन् भन्ने कुरा मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उक्तिबाट पनि प्रष्ट भएको छ । 

सांसदहरुसँगको प्रश्नोत्तरको क्रममा मन्त्री यादवलाई नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल औषधि लिमिटेडको उत्पादनको बारेमा प्रश्न गरे । उनले ४७ वर्ष पहिले २०० भन्दा बढी औषधि उत्पादन गर्ने लिमिटेडले अहिले ६ प्रकारको औषधि मात्रै उत्पादन गर्नुको कारण के हो ? भनेर प्रश्न गरेका थिए । सुवालले अहिले ५६ वटा निजी क्षेत्रका औषधि उद्योगहरु नाफामा हुँदा सरकारी उद्योग मात्रै किन घाटामा ? भनेर पनि प्रश्न सोधेका थिए । 

त्यसको उत्तरमा मन्त्री यादवले जीवनजल, सिटामोल लगायत ६ प्रकारका औषधिहरु लिमिटेडले उत्पादन गर्ने गरेको सुनाए । मन्त्री यादवले आर्थिक वर्ष २०७५/७६मा हेमोडाईलाईसिस युनिट र प्यारेन्टोरियल युनिट स्थापना गर्नको लागि सरकारले १ करोड ६० लाख पठाउँदा खर्चै नगरेको गुनासो गरे । अघिल्लो वर्ष खर्च नभएपछि यो आर्थिक वर्षको लागि मंगलबारको गोरखापत्रमा सूचना निस्किएको जानकारी दिए । 

उनले दिएको उत्तरपछि सुवालले फेरि अर्काे पुरक प्रश्न सोधे । उनले चीनबाट कच्चा पदार्थ ल्याएर औषधि बनाउँदा ४० प्रतिशत औषधि सस्तो हुन्छ भन्ने कुरामा सत्यता छ ? र नेपाल औषधिमा कहिले आत्मनिर्भर बन्छ ? भनेर सोधेका थिए । साथै उनले नेपाललाई चाहिने कति प्रतिशत औषधि नेपालमा नै उत्पादन हुन्छ ? भनेर पनि मन्त्रीसँग प्रश्न गरेका थिए । त्यसको उत्तरमा मन्त्रीले अहिले कति प्रतिशत उत्पादन हुन्छ भन्ने थाहा नभएको भएपनि अबको एक दुई वर्षमा नेपाल औषधिमा आत्मनिर्भर बन्ने घोषणा गरे । 

राज्यको मन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले एउटा तथ्यांक राख्न नसकेपनि केही समयमा नै आत्मनिर्भरताको खोक्रो आश्वासन दिएका छन् । यसले उनको बोली कत्तिको विश्वासिलो छ ? भन्ने स्पष्ट भएको छ । 

कुनैपनि विषयमा आफ्नो उत्पादनको तथ्यांकबारे समेत जानकारी नभई आत्मनिर्भरको समय बताउनुले हाम्रा मन्त्रीहरु आफ्नो भनाईलाई आफैंले हल्का रुपमा लिने गरेको समेत स्पष्ट भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ