arrow

गाँठो फुकाउन फेरि नेकपा सचिवालय बैठक, हेडमास्टरको विवाद उस्तै 

कुनै पनि विभागको टुंगो नलागेको दावी, अलपत्र जागरण अभियान 

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
ncp-sachibalaya1.jpg

काठमाडौं  । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर सोमबार फर्केलगत्तै मंगलबार बैठक बस्ने भनिएको थियो । 

तर तयारी नपुगेकाले बुधबार बस्ने भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार जानकारी दिएका थिए । 

तर सचिवालय बैठक कि त स्थगित हुँदै आएको छ कि त बसे पनि बिना निर्णय टुंगिदै आएको छ । बुधबारको बैठक नबसेसम्म भन्न सक्ने अवस्था छैन । त्यस्तै बसे पनि टुंगोमा पुग्छ भन्ने छैन । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच १५ महिना अघि पार्टी एकीकरण भए पनि अहिलेसम्म पार्टी पूर्ण एकीकरण हुन सकेको छैन । 

२०७५ को जेठ ३ गते काठमाडौंको भृकुटीमण्डपमा धुमधामका साथ पार्टी एकीकरण भएको थियो । तीन महिनाभित्र स्थानीयदेखि केन्द्रसम्म पूर्ण एकीकरण हुन्छ भनिएको थियो । तर खोइ अहिलेसम्म केही पनि भएको छैन भन्दै नेकपाभित्रकै नेता तथा कार्यकर्ताहरुले आक्रोश पोखिरहेका छन् । 

सरकारभित्र रहने रमाइरहेका छन् भने सीमितले मात्र जिम्मेवारी पाएका छन् । त्यसबाहेक हजारौं कार्यकर्ता बेरोजगार छन् । 

समस्या विभाग विभाजनमै 
नेकपाभित्र विभाग विभाजनमै समस्या देखिएको छ । पछिल्लो समय स्कुल विभागमा आएर कुरो अल्झिएको बताइएको छ । स्कुल विभागको प्रमुख (हेडमास्टर) तोक्न नसकेर नेकपाको नेतृत्व छट्पटाएको देखिन्छ । 

स्कुल विभागमा ईश्वर पोखरेलदेखि नारायणकाजीसम्म र घनश्याम भुसालदेखि बेदुराम भुसालसम्मले आँखा गाडेका छन् । यो विभाग महत्वपूर्ण रहेछ भन्ने ठानेर वरिष्ठ नेता झलनाथ खनाल पनि आफूलाई जिम्मा दिए सम्हाल्न तयार रहेको बताउँदै आएका छन् । 

अरु विभागको टुंगो लागेको भने पनि टुंगोको निर्णय भने सार्वजनिक भएको छैन । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार कुनै पनि विभागको टुंगो लागेको छैन । तर अफबाह भने आइरहेको छ । 

स्कुलको हेडमास्टर तोक्नेबाहेक सबै विभागको टुंगो लागेको जनाउँदै आइएको छ । सचिवालयले यसलाई आधिकारिक रुपले स्पष्ट पार्न समेत सकेको छैन । 

यसअघि बसेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन छलफलमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन निम्ति सबैसँग रुचिका प्राथमिकताबारे  सल्लाह र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनसमेत अपूरै छ ।

६ महिनादेखि पोलिटब्युरोको बैठक बस्न सकेको छैन । केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन । यही बैठक नबसेकैले कार्यविभाजन अलमलमा परेको छ । 

पोलिटब्युरो नबसेको भन्दै अध्यक्ष ओलीको आलोचना गर्दै आएका सदस्य योगेश भट्टराईलाई मन्त्री बनाइएको छ । उनले विरोधसमेत नगर्ने स्पष्ट भइसकेको छ । 

एक व्यक्ति एक जिम्मेवारीमा जोड दिँदै आइए पनि सत्तामा रहेकाहरु नै पार्टीको जिम्मेवारीमा रहँदा अप्ठेरो परेको छ । 

अध्यक्ष प्रचण्डले अहिलेसम्म कुनै पनि बैठकको नेतृत्वसमेत गर्न पाएका छैनन् । ओली सत्ता र पार्टीमा हावी छन् । मुख्यमन्त्रीहरु पनि दोहोरो जिम्मेवारीमा छन् । 

अलपत्र जागरण अभियान
साउन पहिलो साताभित्रै सबै कामको टुंगो लगाएर पार्टी देशभर ‘जागरण अभियान’ मा होमिने नेताहरुले बताउँदै आएका छन् । 

विवादको चुरोसमेत पत्ता लगाउन नसकेका उनीहरु समय घर्किदै गएपछि अलमलमा परेका छन् । 

भदौ १ गतेदेखि राष्ट्रव्यापी जागरण अभियानमा लाग्ने उनीहरुको योजना छ । पाका नेकपा नेता केसव बडालले जागरण अभियान समयमै सुरु हुने विश्वास ब्यक्त गर्छन् । 

तर बाँकी रहेका कामको टुंगो लगाउन सजिलो छैन । तीन दिनभित्रै तयारी गरेर भदौ १ मै नेकपामय बनाउन सम्भावना कम देखिए पनि दुई तिहाइको सरकारले चाहे के गर्न सक्दैन भन्नेहरु पनि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ