arrow

सिक्किममा नाटकीय राजनीतिक घटनाक्रम, पवन चाम्लिङका १० विधायक भाजपामा

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
BJP-sikkim.jpg

गान्तोक। सिक्किममा एउटा नाटकीय राजनीतिक घटनाक्रमको विकास भएको छ। मंगलबार सिक्किमको सिक्किम प्रजातान्त्रिक मोर्चाका दश विधायकहरू अचानक भारतीय जनता पार्टीमा प्रवेश गरेको समाचारले यो दल मात्रै नभएर सिक्किमभरी नै राजनीतिक भूकम्प आएको छ। 

सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको नेतृत्वमा २५ वर्षसम्मको शासनकालमा धेरैपटक मन्त्री बनेका डी. टी‍. लेप्चा, युगेन ग्याछो र अन्य पूर्वमन्त्री सहितका विधायकहरूले अचानक मोर्चा छाडेको घटनाले सिक्किम भरी खैलाबैला मच्चिएको हो । मोर्चाका १० नेताहरु औपचारिक रुपले सामेल भएको भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष जे.पी. नड्डा तथा महासचिव, उत्तर पूर्व मामिला महासचिव राम माधवको उपस्थितिमा सामेल भएको घोषणा गरेका छन् । 

सन् १९७५ सालमा पूर्ण रुपले भारतमा गाभिएपछि सिक्किमेली नागरिकहरुले अहिलेसम्म पनि भारतको केन्द्रीय पार्टीलाई विश्वास गरेका छैनन् । उनीहरुले कुनैपनि चुनावमा क्षेत्रीय दलबाहेक अरु केन्द्रका दलहरुलाई चुनाव जिताएका छैनन् । धेरै कालसम्म छोग्याल राजाले सानो हिमाली राष्ट्रको रुपमा शासन गरेको यो भूमिलाई भारतले अनेक रणनीति अपनाएर लेण्डूप दोर्जेको सहयोगमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा विलय गराएकी थिइन् । 

यही कुरालाई स्मरण गरेर सिक्किमको विगतको इतिहास, स्थानीय कानून र जनताको सुरक्षाको विषयलाई लिएर जनताले कहिले पनि सिक्किमबाट राष्ट्रिय पार्टीलाई भोट दिएर जिताएको इतिहास छैन । तर, जनताले विश्वास गरेका यी विधायकहरुले भने सिक्किमेली जनतालाई धोका दिएको टिप्पणी भएको छ ।  

कुनैपनि दलका सदस्यहरु कांग्रेस वा भारतीय जनता पार्टीमा सामेल भएको घटना भने यो पुरानो होइन । अर्को दलमा गएर पनि राम्रो काम गर्न नसकेर चुनाव हारेका इतिहासहरु धेरै छन् । तर, यति धेरै विधायकहरूले नै एकैपटक पार्टी छाडेको घटना भने यो पहिलो रहेको सिक्किमबाट प्रकाशित हुने हिमगिरि अनलाईन न्यूजले जनाएको छ । 

एसडीएफले गत विधानसभामा १५ सीट जितेको थियो र दुई सीटको कमिले गर्दा सो पार्टीले सरकार बनाउन सकेको थिएन । यो घटनाक्रमपछि केवल अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ मात्र एसडीएफमा रहेका छन्। माधवले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, उत्तर पूर्वी राज्यहरू धेरै जसो भाजपाले शासन गरिरहेका छन्, सिक्किममा मात्र भाजपा छैन, तर अब सकारात्मक विपक्षीको रुपमा भाजपाले भूमिका खेल्नेछन्। पत्रकार सम्मेलनमा सामेल भएका विधायक तथा पूर्व मन्त्री डी.टी.लेप्चाले भने, हामी भाजपा सरकारको लुक इस्ट नीतिसित प्रभावित भएर भाजपामा सामेल भएका हौं।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ