तारा र ग्रहको नाममा नेपालीमा 

प्रकाशित मिति : २०७६ भदौ १ आइतबार

काठमाडौँ । ‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् ।

अब यस्तै ग्रह र ताराको नेपाली राख्न पाइने भएको छ । अन्तरिक्षमा रहेको एउटा ग्रह ‘एचडी १००७७७बी’ र तारा ‘एचडी १००७७७’ को नेपाली नाम प्रस्ताव गर्न आहवान गरिएको छ ।

प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ । सोसाइटीका अनुसार नेपाली नाम राख्ने तारा करिब १७२ प्रकाश वर्ष टाढा छ । 

यो तारा हाम्रो सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो । यो ताराको एउटा मात्र ग्रह सन २००७ मा पत्ता लागेको छ । नेपालीले नाम प्रस्तावित गर्ने ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १।१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन । यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।

अन्तरिक्षीय पिण्डको नामकरण गर्ने इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन ९आईएयू० ले १०० औं वार्षिकोत्सवको अवसरमा नेपाललाई ग्रह र ताराको नाम रोज्न दिएको हो । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवं आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराई भन्छन्, ‘प्रस्ताव स्वीकृत भएपछि विश्वले यो ग्रह र तारालाई नेपाली नामबाटै चिन्नेछ ।’ यसका लागि हरेक मुलुकको आईएयू प्रतिनिधिले केही नाम चयन गरेर पठाउनेछ । 

यसपछि केही नियमका आधारमा ती पठाइएका मध्ये नाम छानिनेछ । नाम सजिलै उच्चारण गर्न मिल्ने, धार्मिक शब्द नहुनुपर्ने, राजनीति वा सेनासँग सम्बन्धित नहुनुपर्ने, कुनै जीवित व्यक्तिको नाम नहुनुपर्नेछ ।

परापूर्वकालमा हाम्रा पुर्खाले अन्तरिक्षीय गतिविधि, ग्रह, नक्षत्रको अध्ययन, गणना मात्र नभई तिनको नाम राखेका थिए । आधुनिक विज्ञानको युगमा अन्तरिक्षीय अध्ययन अनुसन्धानमा हाम्रो उपस्थिति शून्यप्रायः छ । ‘ग्रीसमा एउटा पिण्डका लागि एक सातामै डेढ हजार नाम प्रस्ताव गरियो,’ भट्टराईले भने, ‘हाम्रो मुलुकमा नाम प्रस्ताव गर्ने इच्छा धेरै कम देखिएको छ ।’ (कान्तिपुर दैनिकबाट)

नयाँ