arrow

रसुवाको भोटेकोशीमा भीषण बाढी, वस्ती छाड्न जिल्ला प्रशासनको आग्रह 

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
Rasuwa_District.png

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन अस्तव्यस्त बनाएको छ । 

भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । 
     
 भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । 

पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिए । 

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।     

आइतबार राति ९ बजेबाट भोटेकोशीको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साइरन बजाएको थियो ।

रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी आयोजना क्याम्प छोडेर बाहिरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ