arrow

बुद्धद्वारा प्राप्त बुद्धत्व र महापरिनिर्वाण पढ्न समिति गठन

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
gautam-buddha1.jpg

लुम्बिनी । लुम्बिनीमा यस वर्ष पनि अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको संयोजकत्वमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समिति गठन गरिएको छ ।

आगामी कात्तिक २८ देखि ३० गतेसम्म गौतम बुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । त्रिपिटक वाचन सम्पन्न गर्न सहसंयोजकमा थाई विहारका प्रमुख भिक्षु सुपोथ, सिद्धार्थ होटेल एसोसिएशनका अध्यक्ष सिपी श्रेष्ठ, पर्यटन व्यवसायी हेमबहादुर विष्ट, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यलगायत रहेका छन् ।

त्रिपिटक वाचन अगाडि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा निकाल्ने कार्यक्रम छ । कार्यक्रम सफल बनाउन विभिन्न सङ्घसंस्थालाई जिम्मेवारी बाँडफाँट गरिएको छ । त्रिपिटक वाचनमा आउने सहभागीलाई  खाना र आवासको व्यवस्थापन गर्ने जिम्मेवारी लुम्बिनी होटेल एसोसिएशनलाई दिइएको छ ।

त्रिपिटक वाचन समारोहको व्यवस्थापन अखिल नेपाल भिक्षु सङ्घले गर्ने आयोजकले जनाएको छ । तीनदिने त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्यान्ड, कोरिया, जापानलगायत करीब २२ देशका भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासकउपासिकाकोे सहभागिता रहने महासङ्घका अध्यक्ष तथा आयोजक समितिका संयोजक भिक्षु मैत्रीले जानकारी दिए।

“गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएको छ, यो वर्ष पनि बौद्ध शिक्षा र त्रिपिटकको महत्वबारे सबैलाई सचेत गराउने प्रयत्न गर्नेछौँ”, उनले भने, “यो कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्ने छ ।” १५ वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि शाक्यमुनि बुद्धको जन्मस्थलमा गत वर्षदेखि भिक्षु महासङ्घले आयोजना गरेको हो ।

कार्यक्रमका लागि झण्डै रु डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषलगायत लुम्बिनीका विभिन्न विहारले सहकार्य गर्नेछन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले त्रिपिटक वाचन कार्यक्रमलाई लुम्बिनी भ्रमण वर्षसँग जोडेर मनाइने बताए ।

यस वर्ष प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेका कारण त्रिपिटक वाचन कार्यक्रमलाई प्रदेश नं ५ सरकारले सहयोग गर्ने बताइएको छ । बुद्ध जन्मस्थलमा आध्यात्मिक गतिविधि बढाउन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले  सबैसँग सहकार्य गर्नेे सचिव धनञ्जय पौडेलले बताए । भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् ।

यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुनुअघिसम्म दिका प्रवचन सङ्ग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए ।

 गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै  ‘त्रिपिटक’ हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ